उत्तम कुमार पोखरेल
सूर्य विनायक, भक्तपुर
जली खाग तिम्रो भयो देह सारा
बसेँ सम्झी छाया बगे नेत्र धारा
छ खाली सबै देह खाई चिहान
नियाल्दै छु छाया तिमीमै छ ध्यान ।१।
कतै इष्ट भेटे बसे है रमाई
भई दूर आफै कहाँ छ्यौ हराई
छ यस्तै चलेको सबै जीवसाथ
छ जो काल कस्तो बसेको छ साथ ।२।
अनौठो छ माया छ खाली निधार
तिमी साथ छैनौ भरौँ के निधार ?
धराधाम छोडी गयौ दूर बैनी
भयो बास तिम्रो गयौ स्वर्ग बैनी ।३।
निभ्यो दीप ध्याप्पै भुल्यौ दाइ भाइ
गयौ देह छोडी त्यतै खोज दाइ
गए एक दाजै उतै बस्छे बैनी
गई खोज गर्नू तिमी हौ नि बैनी ।४।
छ जो दिव्य छाया बसी आज तिम्रो
नियाल्दै छु बैनी थियौ सान हाम्रो
सबै पञ्च तत्व मिसाएर पानी
दिएँ खान भन्दै हुनू तृप्ति नानी ।५।
छन्द : भुजङ्गप्रयात
गण : य य य य
सङ्केत : lSS lSS lSS lSS
वि.सं.२०८१ पुस ६ शनिवार ०५:४१ मा प्रकाशित






























