कलानिधि दाहाल, काठमाडौं
हुँदैन राष्ट्रसाँध यो विशाल विश्व राष्ट्र हो
हराभरा वसुन्धरा छ धारदार दारको ।
लिए हुने छ व्यक्ति स्वार्थमा छ स्वार्थरागको
ठूलो अगाडि बढ्छ सानले पराग सुक्छ यो ।।
विशाल वक्ष विश्वमा फिँजेर फैलिने पर
भए हुने छ राष्ट्रको विकास भव्य सुन्दर ।
अनन्तमा उठौँ अनेक एक एकमा जुटौँ
धपक्क बल्छ विश्व नै म सान विश्व लुट्पुटौँ ।।
बिहानको प्रशान्तझैँ बगूँ बगेर फैलिऊँ
कुचो बढार्न छाल हातका कतै नमैलिऊँ ।
मनोदशा बनी सफा स्वतन्त्र तन्त्र तैरिऊँ
सिमान्त आउने भए तिनै विरुध्द वैरिऊँ ।।
ममा पवित्रता भए म हेर्न सक्छु व्यापक
म साहसी भए कहाँ छु रोकिने अनाहक ।
म दारमा उदारमा प्रफुल्ल फुल्ल पारमा
भए म सारमा विकास पारका किनारमा ।।
उचाल चाल जोडले पुगेर पाउ पारमा
कहाँ रहन्छ उर्लिँदो नदी अडेर धारमा ?
किनार नार्न माथमा उफार्न फार्न दुश्मन
बसे छपक्क झारमा विकासकास मन्थन ।।
निकाल काल भित्रका बनेर देवदूतझैँ
उफार फार भ्रष्टका विनाश नाश चक्रझैँ ।
बनेर इन्द्र कोमली छरेर वासना उता
समग्र अग्र उच्चमा विकास बन्छ देवता ।।
छ स्वार्थ सामुमा पिएर मत्त मत्त छन् जन
सबै धपाउने प्रयासमा विकास इन्धन ।
म पेट एकमा रमी रमाउँदा सधैँ यता
विकास बल्छ धप्प धप्पमा छ दीपको लता ।।
न राख्न सक्छु साँध यो न बाँध्न सक्छु बाँधमा
विकास विश्व राष्ट्र हो म बोक्न सक्छु काँधमा ।
न रोक्न सक्छु पाइला न रोकिने भए कर
विकास दीप देश हो चमक्क चम्किने घर ।।
छु खण्डमा अखण्डको म विश्व चुम्न माहिर
विराट् छ विश्व नै यता उचाल्छ व्यक्ति आखिर ।
म खीर खान्छु आखिरी र देश बोक्छु आँतमा
विशाल विश्व नै यहाँ उचाल्छ हिँड्छु हातमा ।।
छन्द -पञ्चचामर
अक्षर सङ्ख्या -१६
सूत्र – १२१ १२१ १२१ १२१ १२१ २
वि.सं.२०८१ माघ ५ शनिवार ०९:३१ मा प्रकाशित






























