योगराज आचार्य (छिमेकी दाइ), मोरङ, उर्लाबारी
१.
आफैँ गल्दारहेछन् अरूलाई गलाउनेहरू
मुर्दा कहिल्यै रोएन, रुदोँरहेछन् जलाउनेहरू
जिन्दगीको गोरेटोमा धाँजै–धाँजा फाटेपनि
नथाक्ने रहेछन् कहिल्यै सपना फलाउनेहरू ।
२.
चेतनाको आगो सधैँ धिपधिप बलीरहन्छ
उर्लिएर आउने चाह एकएक गर्दै ढलीरहन्छ
बितेको पल सम्झिएर नलिनुहोस् पीर मनमा
यस धरामा आउने जाने रित सधैँ चलीरहन्छ ।
३.
खुशियालीले मनको बाँध अनायासै टुटेको बेला
बरालिँदै यो मन अचेल चङ्गा जस्तै उडेको बेला
निरासाका वचनहरू नबोलीदेऊ न प्रिया तिमी
एउटा झिल्को भरोसाको मनभित्र उठेको बेला ।
४.
सन्तान राखी मनभरि, परदेश लागेपछि
कमिन्छ कि धन पुग्नेगरि, परदेश लागेपछि
पुग्नै हुन्न थोरै टाढा, नानाभाँती कुरा खेल्छन्
सम्झीसम्झी अनेकथरी, परदेश लागेपछि ।
५.
खुल्ला दिल छ हजुर आउन मिल्छ, मिल्दैन ?
समानताका गीत गाउन मिल्छ, मिल्दैन ?
धर्ती एउटै भए पनि स्तर फरक भएपछि
भुईंमान्छेले माया लाउन मिल्छ, मिल्दैन ?
वि.सं.२०८१ माघ १२ शनिवार ०५:२८ मा प्रकाशित






























