back
CTIZAN AD

मिथिला माध्यमिकी परिक्रमाको धार्मिक मान्यता

वि.सं.२०८१ फागुन २९ बिहीवार

816 

shares

काडमाडौँ ।
जय रघुनन्दन सीताराम
सवकोई मिलक बोलु जय सिया राम
सीताराम जय सीताराम

मर्यादा पुरुषोत्तम भगवान श्रीराम र सीताको जयजयकार गर्दै साधु, सन्त, योगी र सर्वसाधारण भक्तजनको लावालस्करसहित लाखाँैको सङ्ख्यामा निस्केको पन्ध्रदिने धार्मिक यात्रा आज जनकपुरधाममा फर्किएको छ । नेपाल–भारतबीच सदिऔँदेखि रहँदै आएको धार्मिक तथा सांस्कृतिक सम्बन्धका रूपमा हेरिएको १५ दिने यो धार्मिक यात्रालाई नेपाल–भारत धार्मिक–सांस्कृतिक सम्बन्धको सेतुको रूपमा लिने गरिन्छ । यसलाई मिथिला माध्यमिकी परिक्रमा भन्ने गरिन्छ ।

यही फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत् रूपमा प्रारम्भ भएको थियो । फागुनको आँैशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी एक सय २० किलोमिटर भू–भाग साधुसन्तलगायत भक्तजनले पैदलयात्रा गर्ने गर्दछन् । नेपालको महोत्तरी र धनुषाका गरी १२ स्थान तथा भारतको बिहार प्रान्तको मधुवनी जिल्लाका तीन स्थान गरी १५ स्थान परिक्रमा गरी माध्यमिकी परिक्रमाको धार्मिक यात्रा पूरा हुन्छ । १५ स्थानमा रातको बास बसी फाल्गुण पूर्णिमा (फागुन २९) का दिन जनकपुरमा अन्तगृह परिक्रमा गरेपछि माध्यमिकी परिक्रमा समापन गर्ने गरिन्छ ।

मिथिलामा बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गर्ने चलन छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको सङ्ख्या अहिले पनि उल्लेख्य छ । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी कीर्तनसहित मौलिक पहिरनमा लाखाँै नरनारी सहभागी हुने गर्छन् यो परिक्रमामा । लावालस्करसहित मिथिलाको चारै स्थानका धार्मिक स्थलको परिक्रमा गर्ने परम्परा छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ । यस परिक्रमामा विशेषगरी नेपालको धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र भारतको मधुवनी, अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गाका साधुसन्तहरू उल्लेख्य रूपमा सहभागी हुने गरेको पाइन्छ ।

मधेशकै महाकुम्भका रूपमा मानिने यो मिथिला माध्यमिकी परिक्रमाका यात्रुहरू १४औँ दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औँ दिन जनकपुरधाममा फर्किएको हो । जनकपुरधाम प्रवेश गरेका तीर्थयात्री ऐतिहासिक बाह्रविघा रङ्गभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानमा विश्राम गर्नेछन् । फागु पूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । यसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजन पनि सामेल हुने गर्छन् । यस परिक्रममा लाखौँ श्रद्धालु सहभागी हुने गर्दछन् ।

धार्मिक जनविश्वासअनुसार, मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजन विभिन्न रोग, दुःख–कष्ट तथा समस्याबाट मुक्त भई मनोकामना पूर्ण हुने आस्था राख्छन् । त्यसैले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै भारतको बिहार–सितामढी, मधुबनी, दरभङ्गा आदि स्थानबाट लाखौँ श्रद्धालु एवं साधुसन्त यसमा सहभागी हुने गर्छन् । परिक्रमा यात्रामा सहभागीहरूले खानपानका सामग्री तथा आवश्यक बन्दोबस्तीका सामानसहित यात्रा गर्छन् । परम्परागत बाजागाजा, झाँकी, कीर्तन तथा मौलिक पहिरनमा विशेषतःपाका उमेरका नरनारीहरू सहभागी हुने गर्छन् ।

मिथिला परिक्रमामा सहभागी हुनेले १५ दिन नाङ्गै खुट्टा यात्रा गर्नुपर्ने परम्परा छ । त्यसैले यो परिक्रमा यात्रालाई कठोर धार्मिक यात्राका रूपमा पनि लिइन्छ । परिक्रमाका सहभागीले १५ दिनसम्म लसुन, प्याज र मांसाहार त्याग गर्नुपर्छ । यात्राका सहभागीले एक छाक मात्रै खाना खाने प्रचलन पनि रहेको छ । यात्रीले परिक्रमा अवधिभर गृह प्रवेश नगर्ने र खुला आकाशमुनि पाल टाँगेर वनवास जस्तै जीवनशैली अपनाउनुपर्ने परम्परा छ । यात्राका क्रममा यात्रीले दिनरात मर्यादा पुरुषोत्तम राम र सीताको भजनकीर्तन गर्ने गर्छन् ।

परिक्रमाको प्रत्येक विश्रामस्थल र यात्राका क्रममा पर्ने गाउँका सर्वसाधारणले परिक्रमाका सहभागी यात्रीलाई खाद्यान्न र बासको सक्दो उत्तम प्रबन्ध गर्छन् । परिक्रमाका सहभागी यात्रुलाई खाद्यान्न दान गरे परिक्रमा गरेसरहकै फल प्राप्ति हुने जनविश्वासका कारण विश्रामस्थल र यात्राका क्रममा पर्ने गाउँवासीले खाद्यान्न दान गर्ने र स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउने गरेको पाइन्छ । परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मबाट भएका पाप नष्ट भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ । परिक्रमामा सहभागी हुँदा १०८ तीर्थ बराबरको फल प्राप्त हुने जनविश्वास छ ।

माध्यमिकी परिक्रमाको शुरुआत
प्रत्येक वर्ष मनाइने मध्यमा परिक्रमा मिथिलाञ्चलकै १५ दिवसीय महाकुम्भका रूपमा चर्चित छ । परिक्रक्रमा बृहत्, मध्य र अन्तगृह गरी तीन प्रकारका हुन्छन् । बृहत् परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गङ्गा र पश्चिममा गण्डकसम्मको परिक्रमापछि मात्र सम्पन्न हुन्छ । यो निकै कठिन परिक्रमा मानिन्छ । माध्यमिकी परिक्रमा १८औँ शताब्दीभन्दा पूर्वदेखि मनाइँदै आएको विश्वास छ । परिक्रमा यात्रा यकिनसाथ कहिले शुरु भएको भनेर कहीँकतै उल्लेख नभए पनि सियालाल प्रभंस नामका सन्तले १०÷१२ जना साधु मिलेर परिक्रमा शुरुआत गर्नुभएको भनाइ छ । सियालाल प्रभंसको समय भन्नाले १७५ वर्षअघिको अवस्थालाई जनाउँछ । त्यही परिक्रमाले विस्तारै सङ्ख्या बढ्दै र चर्चा पाउँदै गएको पाइन्छ । त्यसपछि मिथिला बिहारी (राम) को डोला र पछि कशोरीजीको पनि डोला शुरु भएको मान्यता छ ।

माध्यमिकी परिक्रमा अर्थात् पञ्चकोशी परिक्रमाले नेपाल–भारतको ८० कोसको वृत्ताकारमा यात्रा तय गर्छ । वर्षमा एक पटक विशाल रूपमा तीर्थालुहरू मोक्ष प्राप्तिका लागि मिथिलाको माध्यमिक परिक्रमा गर्छन् । वास्तवमा राजा जनकको राजधानी जनकपुरलाई परिक्रमा गर्नु माध्यमिकी परिक्रमा हो भन्ने भनाइ पनि छ । मिथिला महात्म्यमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरूले छोटो दुरीको अन्तगृह परिक्रमा गर्नुपर्ने उल्लेख गरिएको छ । अन्तगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम नगरपालिकाभित्र पर्छ ।

विष्णुपुराण अन्तर्गतको मिथिला महात्म्यको अध्याय–१२ को ३३ श्लोकमा मिथिला परिक्रमाका बारेमा विस्तृत वर्णन गरिएको पाइन्छ । मिथिला माध्यमिकी परिक्रमाका १५ वटा विश्रामस्थल छन् । सबै विश्रामस्थल लगभग पाँच कोसको दूरीमा छन् अर्थात् ती १५ किलोमिटरभित्रै पर्छन् । राजा जनक शिवभक्त थिए । उनैले जनकपुरको पूर्व र दक्षिण कुनामा स्थापना गरेको कल्याणेश्वर महादेवस्थानबाट माध्यमिकी परिक्रमा प्रारम्भ हुन्छ । यो परिक्रमालाई विस्तार गर्ने काम जानकी मन्दिरका महन्थ सुरकिशोर दासले गर्नुभएको भनाइ छ ।

माध्यमिकी परिक्रमाको विश्रामस्थलहरु
मध्य परिक्रमा अर्थात् पञ्चकोशी परिक्रमाअन्तर्गत ८० कोशको वृत्ताकारमा घुम्नु पर्दछ । यस क्रममा विभिन्न विश्रामस्थल पर्दछन् ।

हनुमानगढी : फागुण अमावश्याका दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी (मिथिलाविहारी) को डोलाका सहभागीले जानकी मन्दिर हुँदै बाजागाजासहित हनुमानगढीमा राति विश्राम लिन्छन् । यहाँ सयौँ वर्ष पुरानो हनुमानको विशाल मूर्ति रहेको छ ।

कल्याणेश्वर (कलना) : विश्रामको दोस्रो पडावस्थल भारतको कल्याणेश्वर अर्थात् कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर छ । राजर्षि जनकले आफ्नो राजधानीका चारै कुनामा स्थापना गरेका चार महादेवमध्ये यो एक हो ।

गिरिजास्थान (फुलहर) : कल्याणेश्वरस्थानबाट चार कोस दक्षिणपश्चिमस्थित गिरिजास्थान तेस्रो दिनको पडावस्थल हो । त्रेतायुगमा सीताले फुल चुनिरहेका बेला यहाँ रामको पहिलो भेट भएको किंवदन्ती छ । यहाँ दुःखहरण कुण्ड, सीतासागर र पूmलबारी रहेको छ ।

मटिहानी : माध्यमिकी परिक्रमाको चौथो दिन अर्थात् फागुण शुक्ल तृतीयाका दिन महोत्तरी जिल्लाको पहिलो विश्रामस्थल मटिहानी प्रवेश गर्छ । यहाँ सीताजीको मटकोरका लागि माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मीसागर (पोखरी) र लक्ष्मीनारायणको मन्दिर छ ।

जलेश्वरः परिक्रमाका यात्री मटिहानीबाट चौथो दिन जलेश्वर पुग्छन् । यो स्थल मटिहानीबाट दुई कोस पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पूजा आराधना गर्ने गरिन्छ ।
मडै : फागुण शुक्ल पञ्चमीका दिन परिक्रमाको डोला जलेश्वरबाट प्रस्थान गरी मडै पुग्छ । प्राचीनकालमा यहाँ माण्डव ऋषिको आश्रम र सीताजीको बिहेका लागि मडवा (वेदी) बनाइएको जनश्रुति पाइन्छ ।

धु्रवकुण्डः मडैबाट सातौँ दिन धु्रवकुण्ड पुगिन्छ । यहाँ ध्रुवको मन्दिर र ध्रुवकुण्ड रहेको छ ।
कञ्चनवन : ध्रुवको दर्शन गरेर परिक्रमाका यात्री महोत्तरीको अन्तिम पडावस्थलका रूपमा रहेको कञ्चनवनमा सप्तमीका दिन पुगी विश्राम लिन्छन् । यहाँ इच्छावती र विरजा गङ्गाको सङ्गमस्थल भएकाले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवनलगायतका १२ वटा रमणीय वन थिए । त्रेतायुगमा यहाँ भगवान् रामले होली खेलको किंवदन्ती छ । यहाँ यात्रीले अबिर खेली होली मनाउने गर्छन् ।

पर्वताः नवौँ दिन यात्रीले धनुषाको पर्वतामा विश्राम लिन्छन् । राजा जनकद्वारा स्थापित छिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।

धनुषाधामः पर्वताबाट १० औँ पडावस्थलका रूपमा रहेको धनुषाधाममा यात्री पुग्छन् । सीताको स्वयंवर हुँदा मर्यादा पुरुषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा यहाँ खसेको विश्वास छ । यहाँ सीताराम, हनुमानलगायतका मन्दिर छन् ।

सतोषरः फागुण शुक्ल दशमीका दिन परिक्रमाका सहभागी डोलासँगै सतोषर पुग्छन् । यहाँ सात वटा पोखरी, शिव र सीतारामका मन्दिर छन् ।

औरहीः विमला नदीको तटमा रहेको औरहीमा १२ औँ दिनको विश्राम लिइन्छ ।

करुणाः नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणातिर लाग्छ । १३ औँ दिनको बास करुणामा हुन्छ । यहाँ करुणा नामको नदी विख्यात छ ।

विशौलः करुणाको विश्रान्तिपछि परिक्रमाका यात्रु चतुर्दशीका दिन भारतको विशौल पुग्ने गर्छन् । यहाँबाट कमला नदी बग्छ । यहाँ ऋषि विश्वामित्रको मन्दिरसमेत छ ।

जनकपुरः परिक्रमाको अन्तिम पडावस्थल जनकपुरमा यात्रीले विश्राम लिन्छन् । यहाँ रातको विश्रामपश्चात् अन्तिम प्रहरमा अन्तगृह परिक्रमा गरिन्छ । जानकी र राममन्दिरलाई केन्द्रविन्दु मानी यात्रीले अन्तगृह परिक्रमा गर्ने गर्छन् । यसपछि मिथिलामा होली प्रारम्भ हुन्छ ।

वि.सं.२०८१ फागुन २९ बिहीवार १५:५५ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...