वसन्त अनुभव,वसन्तविहार, घोराही दाङ
रामभरोसे सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिकाहरूको भिड आफ्नो घरतिर आउँदै गरेको देखेपछि अचम्मलालले भन्यो,
–“ओहो नमस्कार है नमस्कार सबैमा ! जम्बो टोली नै बनाएर हिँड्नुभएको छ त ! कतै आन्दोलनमा त हैन नि !’
–‘अचम्मलालजी पनि मजाक गर्नुहुन्छ । यी व्यानर देख्नुभएन । हामी त घरदैलो भर्ना अभियानमा हिँडेको ।’ अगाडि सर्दै एकजना शिक्षकले भने ।
‘घरदैलो भर्ना अभियान …?’ व्यानर नियाल्दै अचम्मलाल बोल्यो ।
‘हो नि ! बरु हजुरको सानो बाबुको विद्यालय जाने उमेर भएन र ? हाम्रो विद्यालयमा भर्ना गरिदिनु प¥यो ।’ अर्का शिक्षकले टाउको कन्याउँदै भने ।
‘नानी पनि त छे नि ! उसलाई पनि निजी विद्यालयबाट यतै ल्याउनु प¥यो । हजुरजस्तो जानेबुझेको, गन्यमान्य व्यक्तिले सामुदायिक विद्यालयको साख नजोगाइदिए कसले जोगाइदिन्छ ?’ कपाल मिलाउँदै शिक्षिका बोलिन् ।
–‘त्यो त हो तर … ।’ अचम्मलाल बोल्दै थिए, उक्त सामुदायिक विद्यालयका प्र.अ. हस्याङ्फस्याङ् गर्दै अभियानमा सामेल हुन आइपुगे ।
‘ओहो हेडसर ! हजुरले निकै ढिला गर्नुभयो, आउनुहुँदैन कि भन्ने लागेको थियोे ।’ एकजना शिक्षक बिचैमा प्वाक्क बोले ।
‘यस्तो महत्वपूर्ण कार्यमा नआउने त कुरै छैन । हेर्नुस् न, छोराको स्कुल भर्ना गर्ने आज अन्तिम दिन रहेछ । त्यही भएर चौताराको निजी बोर्डिङ स्कुल पुगेर आएको । पढाईजस्तो कुरामा खेलवाड गर्नु पनि भएन ।’ गम्भीर हुँदै प्रअ.ले भने ।
वि.सं.२०८२ वैशाख ६ शनिवार ०९:३३ मा प्रकाशित






























