वसन्त अनुभव, घोराही – १४, दाङ
सम्पत्तिमोहमा चुर्लुम्म डुबेको देखेर विवेकलालले मोहप्रसादलाई भने ।
‘धनसम्पत्तिका पछि अन्धो भएर कति मरिहत्ते गर्छस् ए मोहे ? आखिर कसैले पनि मर्दासँगै लिएर जाने होइन ।’
‘त्यसो भए हात बाँधेर बँसु ? खाने मुख बन्द गरुँ ?’ मोहप्रसाद जङ्गियो ।
‘नजङ्गी न त्यसै । हात बाँधेर बस्ने कसले भन्यो र ? बाँचुन्जेल काम, मेहनत त सबैले गर्नुपर्छ ।’ विवेकलालले शान्तपूर्वक भने ।
‘त्यही त गर्दैछु नि । अनि यो डाहा किन ?’ मोहप्रसाद अझै तातो थियोे ।
‘डाहा गरेको होइन । मैले मात्र के भन्न खोजेको हुँ भने, तँ धनको पछि होइन, तेरोपछि धन लागोस् ।’ विवेकलालले स्पष्टीकरण दिए ।
‘मतलब’
‘आफ्नो ईज्जत् , ईमान, धर्म धरौटी राखेर धनको सामु लम्पसार नपर् भनेको । शान्ति र सुखसँग बाँच्ने प्रयत्न गर्।’
‘धन नभई कहाँको शान्ति, केको सुख ।’
‘धन मात्र सुखको साधन होइन् । यदि त्यसो भइदिएको भए महल कहिल्यै दुखी हुने थिएन र झुपडी कहिल्यै सुखी हुने थिएन, बुझिस् ।’
‘त्यसो भए सुख कहाँ छ त ?’
‘हामी भित्रै छ । सुख, दुःख जे भने पनि मान्छेभित्रै हुन्छ । खाली अनुभूति गर्न सक्नुपर्छ । रिसराग त्याग्नुपर्छ ।’
वि.सं.२०८२ जेठ ३ शनिवार ०७:५२ मा प्रकाशित






























