काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने हल्लाकाबिच मंगलबार सेयर बजारमा एकाएक उछाल आयो । मंगलबार कारोबार बन्द हुँदा सेयर बजार मापक परिसुचक (नेप्से)मा करिब ४९ अंकको बृद्धि देखियो भने अधिकांस कम्पनीको सेयरमूल्य बढेको देखियो । पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुँदा या नहुँदापनि सेयर बजारमा यसअघिपनि यस्तो भएकै थियो ।
अस्थिरता रुचाउने नेपाली सेयरबजार
सोमबार नै गभर्नरनियुक्तिको बिषयमा सत्तारुढ दुईदल नेपाली कांग्रेस र नेकपा एमालेबिच रस्साकस्सी चलेको थियो । राजनितिमा रस्साकस्सि चलिरहँदा सेयरबजारमा केही सकारात्मक प्रभाब परेको थियो । परिणाम स्वरुप साताको पहिलो कारोबार दिन आइतबार झण्डै तीन अंकले ओरालो लागेको सेयरबजार सोमबार १९ अंकले बढेको थियो । सामान्यतया सामान्यस्थितिमा साताको अन्तिम कारोबार दिन सेयरबजार ओरालोतिर र आइतबार उकालोतिर जाने गर्दछ । तर, नेपालमा भने राजनीति अस्थिर हुन थालेपछि सेयर बजारमा अस्वभाविक स्थिति आउन थाल्दछ । अर्थतन्त्रका जानकारहरुका अनुसार यो अर्थव्यवस्थाको लागि निकै घातक छ ।
सेयर बजार पिरामिड शैलिको बैधानिक ठगि
पूँजीवादी अर्थ व्यबस्थामा सेयरबजार अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ । अर्थतन्त्र राम्रो र स्वस्थ छ भने त्यो देशको अर्थ व्यबस्थापनि राम्रो मानिन्छ । तर, नेपालमा त्यसको ठिक बिपरित छ । यहाँको अर्थतन्त्र कम्जोर छ तर पनि सेयरबजार मौलाएकै छ । समाजवादी अर्थतन्त्रमा विश्वास गर्ने कतिपय अर्थशास्त्रीहरु नेपालको सेयर बजारलाई बैधानिक जुवाघरको रुपमा अर्थ्याउँछन् । उनीहरुको कुरा मान्ने हो भने सेयर बजारको अहिलेको अवस्था पिरामिड शैलीको बैधानिक ठगिधन्दा हो । कुरै नबुझि लाखौं लगानीकर्ताहरुले सेयरको दोस्रो बजारमा पैसा खन्याइ रहेका छन् भने केही मिमित मानिसहरु मालामाल भैरहेका छन् । अर्कोतर्फ सेयरको दोस्रो बजार कुनै कम्पनीको पूँजी निर्माणमा कुनै भूमिका हुँदैन् । उदाहरणको लागि केही वर्ष पहिले कुनै एउटा कम्पनी घाटामा गएर टाट पल्टिने अवस्था हुँदापनि दोस्रो बजारमा सो कम्पनीको सेयरमूल्य भने बढेकै थियो । भलै सो कम्पनीले अहिले उसको अवस्था सुधारिसेकको छ ।
अर्को तर्फ अहिलेको नेपालको सेयर बजारकका कारण उत्पादन मूलक कार्यमा लागेर जिबिका चलाइरहेकाहरु पनि राता रात धनि हुने सपनामा सडकमा पुगेको समाचारहरु पनि सार्बजनिक भइरहेका छन् ।
याे पनि पढ्नुहाेस्
राजनीतिक भागबन्डामा चुनाव हारेका पौडेलको गभर्नरमा जित
पौडेलमा के त्यस्तो जादुु छ ?
विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुनेवित्तिकै कतिपयले सेयरबजार बढ्नेभन्दै सन्जालहरुमा लेखेको पनि देखियो । तर, सेयरबजार बढ्नु र घट्नुमा राष्ट्र बैंक त्यसले ल्याउने मौद्रिक नीतिले भन्दापनि देशको आर्थिक नीतिमा भर पर्ने बिज्ञहरुले बताएका छन् । यसको छनक राष्ट्र बैंकको गभर्नर नियुक्त हुने बित्तिकै पौडेलले दिईसकेका छन् । देशको अर्थनीति रोजगारी बढाउने, लगानी मैत्री वातावरण बनाउने भन्दापनि त्यसलाई गिजोल्ने तिर केन्द्रित हुँदा त्यसले सेयरबजार मात्र हैन समग्र क्षेत्रमानै असर गर्ने देखिन्छ ।
नेपाल आयतमा आधारित अर्थतन्त्र भएको मुलुक हो । यहाँको आर्थिक अवस्था कस्तो छ भनेर जान्न कति व्यापारघाट भयो भनेर हेर्नुपर्ने हुन्छ । जति बढी आयत त्यति बढी भन्सार राजश्व संकलन । जति बढी भन्सार राजश्व संकलन त्यति बढी ब्यापार घाटा । अहिले यही चक्रबाट नेपालको अर्थतन्त्र गुज्रिरहेको छ । अहिलेका गभर्नले गर्नसक्ने भनेको बैंकहरुलाई लगानी बढाउ भन्ने हो । तर, बैंकहरुको खराब कर्जाको अबस्था हेर्दा उनीहरुले गभर्नरले भनेको टेरी हाल्ने अबस्था छैन् । बैंकहरुले धरोटी स्वरुप सकारेको अचल सम्पत्ति लिलामी गर्ने हुन् । लिलामी गरेको सम्पत्ति पनि बिक्ने अबस्था छैन । अधिकांस बैंक तथा बित्तिय संस्थाहरु अचल सम्पत्ति थुप्रिएकका कारण हैरान् छन् ।
साना तथा मझौला व्यवसाय गर्नेहरु कर्जाको लागि बैंकहरुमा जाँदा हैरानी व्यहोर्नु पर्ने अवस्था छ । त्यस्तै सहुलियत पूर्ण कर्जा प्रवाह गरेका बैकहरुले सरकारबाट व्याजबापत पाउनुपर्ने करिब १५ अर्बभन्दा बढी रकम बक्यौता छ ।
यी सबै परिस्थिति हेर्दा राजनीतिक अस्थिरताको फाइदा उठाउँदै चलखेल गरेर सेयरबजारलाई कृतिम रुपमा मोटो देखाइएको मात्र हो । जुन हिजो पनि हुन्थ्यो । अहिले पौडेल गभर्नर भए पनि समग्र राजनीतिक प्रणाली र आर्थिक प्रणालीमा सुधार नगरिकन अर्थत्रन्त्रका कुनै पनि क्षेत्र तंग्रिने अवस्था छैन । सेयर बजार मात्र होइन ।
वि.सं.२०८२ जेठ ८ बिहीवार ०६:०० मा प्रकाशित




























