काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले यही जेठ ३० गतेदेखि प्रथम चरणको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३० गतेदेखि (आईपीओ) निष्कासन गर्न लागेको हो ।
यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रथम चरणमा निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नंं. ८, साविक भुसिङ्गा गाविसका सबै वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुले यसमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । यसमा आवेदन दिने अन्तिम मिति असार १३ गतेसम्म रहेको छ । तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा असार २९ गतेसम्म लम्बिनेछ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन ।
.स्थानिय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितले आवेदनका लागि दरखास्त फाराम बापत २ रूपैयाँ तिर्नु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्नेछ ।
वि.सं.२०८२ जेठ २३ शुक्रवार ११:३० मा प्रकाशित


























