back
CTIZAN AD

समाजले सुन्न बाँकी पुरुषत्व भित्रको मौनता

वि.सं.२०८२ जेठ २९ बिहीवार

2.8K 

shares

ताते ताते सिक्दै गरेको एक बालक आँगनमा लड्यो । उ डाँको छोडेर रोयो । हजुर आमाले नातिलाई उठाउँदै भन्नुभयो, ‘नराऊ बाबु, तिमी त छोरो मान्छे पो । छोरो मान्छे रुन हुन्न ।’ एस.एल.एसी फेल भएपछि कोठा भित्र सुँक्कसुँक्क गरिरहेको छोरालाई पिताले सम्झाउँदै भने, ‘धत्, लाटा छोरो मान्छेले पनि आँसु देखाउने हो ? छोरो मान्छेले त मनलाई बलियो बनाउनुपर्छ । समाजका अगाडि आत्मबल र आत्मविश्वासका साथ अगाडी बढ्नुपर्छ । कहिलेकाहीँ छोरो लड्छ, फेरि उठेर हिँड्नुपर्छ । तर, आँसु देखाउनुहुन्न’ छोरा मान्छेलाई समाजले प्रायः सिकाउने यही आदर्श हो ।

शक्ति, नियन्त्रण र आत्मनियन्त्रणको प्रतीकका रूपमा छोरा मान्छेलाई पुरुष भनेको हो । उनीहरूलाई आँसु पुछ्न होइन, लुकाउन सिकाइन्छ । दुख्दा पनि ‘छोरा मान्छे भएर रुन्छस् ?’  भन्ने सवाल उनीहरूको भावनात्मक स्वतन्त्रता माथिको कठोर प्रहार हो । बाल्यकालदेखि नै उनीहरूलाई भावना लुकाउन, सहनशील बन्न र हार नमान्ने सिकाइन्छ । यही प्रशिक्षणले छोरो मान्छेलाई मौन बनाउँछ, जसले उनीहरूको भित्री पीडालाई ओझेलमा पारिदिन्छ ।

अभावमा गुज्रिरहेका जोडी मध्ये श्रीमतीले आफूले भोगेका एक/एक मिनेट भित्र घटित घटनाका पीडा र अफ्ठयारा श्रीमान्लाई सुनाउँछिन् । सबै कुरा चुपचाप सुनिरहेका श्रीमान्ले कुनै प्रतिक्रिया नदिएपछि श्रीमती भन्छिन्, ‘हाम्रो भविष्यको बारेमा मलाई कत्रो चिन्ता छ, मैले कति पीडा भोगिरहेकी छु । तर तपाइलाई हाम्रो भविष्यको बारेमा कत्ति पनि चिन्ता छैन ।’

श्रीमान् बिहानै चार बजे उठ्छन्, साँझ पाँच बजे सम्म काममा जान्छन् । बिदाको समयमा श्रीमतीलाई घरको काम सघाउँछन्, खाना बनाउँछन्, सँगै लुगा धुने सुकाउने सबै काम गर्छन् । आफ्नो कमाइले ऋण तिर्दै जान्छन् । छोराको पढाइ खर्च जुटाउँछन् । बेलाबेला श्रीमतीलाई मन पर्ने लुगा र खानेकुरा घरमा ल्याउँछन् । तर पनि श्रीमती निरन्तर आफूले सङ्घर्ष गरेको विषय सुनाउँदै श्रीमान्ले केही प्रगति गर्न नसकेको आरोप लगाउँछिन् । श्रीमान्, तब पनि चुपचाप आफ्नो श्रीमतीका कुरा सुन्छन् ।

छोरा मान्छेको पीडा समाजका लागि अदृश्यजस्तै हुन्छ । जब उनीहरू आर्थिक दबाब, सम्बन्धको असफलता, मानसिक तनाव वा आत्म–संकटमा पर्छन्, तब पनि उनीहरूमाथि ‘बलियो देखिनु’ को अपेक्षा रहन्छ । छोरा मान्छे ‘म थकित छु’, ‘म दुखी छु’, वा ‘म रोएर सहज महसुस गर्न चाहन्छु’ भन्न पाउँदैनन्, किनकि त्यस्तो भावना देखाउनु ‘कमजोरी’ को सङ्केत ठानिन्छ । समाजले सिकाएको यही आदर्शका कारण जीवन सङ्घर्षका क्रममा कठोर यातना श्रीमानहरु आफ्ना श्रीमती सामु खोल्न नरुचाएका हुन सक्छन् ।

सांस्कृतिक संरचना पनि यस मौनताको मूल कारण हो । फिल्म, साहित्य र सञ्चार माध्यममा प्रायः छोरा मान्छेहरू कठोर, समस्या समाधान गर्ने, र भावनात्मक रूपमा अडिग देखाइन्छन् । यस्तो चित्रणले पुरुषहरूलाई आफ्नो वास्तविकता लुकाउन बाध्य बनाउँछ । उनीहरूको भित्रको चिच्याहट एक किसिमको मौन बम बनिदिन्छ, जुन कुनै दिन विस्फोट हुन सक्छ–डिप्रेसन, आत्महत्या वा हिंसात्मक व्यवहारको रूपमा ।

मानसिक स्वास्थ्यका तथ्याङ्क हेर्दा पनि छोरा मान्छेहरूमा आत्महत्या दर महिलाहरूको तुलनामा दोब्बरभन्दा बढी देखिन्छ । तर मानसिक स्वास्थ्य सेवा लिने दर भने अत्यन्तै कम छ । किन ? किनकि उनीहरूलाई सिकाइएको छ, ‘तपाईँले आफैँ सँभाल्नुपर्छ, सहायता माग्नु कमजोरी हो ।’ महिलाहरू पुरुषत्व भित्रको मौनताको कारण बुझ्दैनन् अथवा छोरा मान्छेहरू आफू भित्रको यातना, उत्पीडन र चिच्याहट समाजलाई सुनाउन पाउँदैन र उसको अन्तिम विकल्प हुन्छ आत्महत्या ।

अब यो मौनता तोड्ने समय आएको छ । छोरा मान्छेहरू पनि मानिस हुन्, रोकिन सक्छन्, थाक्न सक्छन्, र आत्म–संवाद गर्न सक्छन् । यदि समाजले उनीहरूलाई सुन्ने मौका दियो, उनीहरूको बोलीलाई सम्मान गर्यो, र आँसुलाई कमजोरी नभई संवेदनशीलताको प्रतीक मानेको खण्डमा, उनीहरूको पीडा कम गर्न सकिन्छ ।

शिक्षा प्रणाली, परिवार, साथीभाइ र सञ्चार माध्यमले अब ‘पुरुषत्व’ को परिभाषा पुनः लेख्न आवश्यक छ जहाँ भावनात्मक अभिव्यक्ति पनि ‘मर्दाङ्गी’ कै हिस्सा होस् । रुन्चे छोरा मान्छेहरूलाई खिसी नगरिओस् । आफ्ना भावना पोखेका छोरा मान्छेहरूलाई कुरौटेको संज्ञा नदिइयोस् । आँसु लुकाउनुपर्ने बाध्यताबाट उन्मुक्ति दिइयोस् ।

अन्ततः, पुरुषत्व केवल शक्ति होइन, संवेदना पनि हो । जबसम्म पुरुषका आँसु बहन सक्ने बन्छन्, तबसम्म उनीहरूको पीडा मौन नै रहनेछ । हामी सबैको उत्तरदायित्व हो पुरुषको मौनतालाई सुन्ने, बुझ्ने र सम्मान गर्ने । किनभने मौन पुरुषहरूको पीडा कहिले काहीँ संसारकै ठुलो चिच्याहट हुन सक्छ जसलाई समाजले सुन्न बाँकी छ । पुरुषको चिच्याहट सुनिइदिँदा भवितव्य हुनबाट बचाउन सकिन्छ । परिवारमा सुखी भित्र्याउन सकिन्छ । समाज सुन्दर बनाउन सकिन्छ ।

वि.सं.२०८२ जेठ २९ बिहीवार १३:४० मा प्रकाशित

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...