back
CTIZAN AD

समाजले सुन्न बाँकी पुरुषत्व भित्रको मौनता

वि.सं.२०८२ जेठ २९ बिहीवार

2.8K 

shares

ताते ताते सिक्दै गरेको एक बालक आँगनमा लड्यो । उ डाँको छोडेर रोयो । हजुर आमाले नातिलाई उठाउँदै भन्नुभयो, ‘नराऊ बाबु, तिमी त छोरो मान्छे पो । छोरो मान्छे रुन हुन्न ।’ एस.एल.एसी फेल भएपछि कोठा भित्र सुँक्कसुँक्क गरिरहेको छोरालाई पिताले सम्झाउँदै भने, ‘धत्, लाटा छोरो मान्छेले पनि आँसु देखाउने हो ? छोरो मान्छेले त मनलाई बलियो बनाउनुपर्छ । समाजका अगाडि आत्मबल र आत्मविश्वासका साथ अगाडी बढ्नुपर्छ । कहिलेकाहीँ छोरो लड्छ, फेरि उठेर हिँड्नुपर्छ । तर, आँसु देखाउनुहुन्न’ छोरा मान्छेलाई समाजले प्रायः सिकाउने यही आदर्श हो ।

शक्ति, नियन्त्रण र आत्मनियन्त्रणको प्रतीकका रूपमा छोरा मान्छेलाई पुरुष भनेको हो । उनीहरूलाई आँसु पुछ्न होइन, लुकाउन सिकाइन्छ । दुख्दा पनि ‘छोरा मान्छे भएर रुन्छस् ?’  भन्ने सवाल उनीहरूको भावनात्मक स्वतन्त्रता माथिको कठोर प्रहार हो । बाल्यकालदेखि नै उनीहरूलाई भावना लुकाउन, सहनशील बन्न र हार नमान्ने सिकाइन्छ । यही प्रशिक्षणले छोरो मान्छेलाई मौन बनाउँछ, जसले उनीहरूको भित्री पीडालाई ओझेलमा पारिदिन्छ ।

अभावमा गुज्रिरहेका जोडी मध्ये श्रीमतीले आफूले भोगेका एक/एक मिनेट भित्र घटित घटनाका पीडा र अफ्ठयारा श्रीमान्लाई सुनाउँछिन् । सबै कुरा चुपचाप सुनिरहेका श्रीमान्ले कुनै प्रतिक्रिया नदिएपछि श्रीमती भन्छिन्, ‘हाम्रो भविष्यको बारेमा मलाई कत्रो चिन्ता छ, मैले कति पीडा भोगिरहेकी छु । तर तपाइलाई हाम्रो भविष्यको बारेमा कत्ति पनि चिन्ता छैन ।’

श्रीमान् बिहानै चार बजे उठ्छन्, साँझ पाँच बजे सम्म काममा जान्छन् । बिदाको समयमा श्रीमतीलाई घरको काम सघाउँछन्, खाना बनाउँछन्, सँगै लुगा धुने सुकाउने सबै काम गर्छन् । आफ्नो कमाइले ऋण तिर्दै जान्छन् । छोराको पढाइ खर्च जुटाउँछन् । बेलाबेला श्रीमतीलाई मन पर्ने लुगा र खानेकुरा घरमा ल्याउँछन् । तर पनि श्रीमती निरन्तर आफूले सङ्घर्ष गरेको विषय सुनाउँदै श्रीमान्ले केही प्रगति गर्न नसकेको आरोप लगाउँछिन् । श्रीमान्, तब पनि चुपचाप आफ्नो श्रीमतीका कुरा सुन्छन् ।

छोरा मान्छेको पीडा समाजका लागि अदृश्यजस्तै हुन्छ । जब उनीहरू आर्थिक दबाब, सम्बन्धको असफलता, मानसिक तनाव वा आत्म–संकटमा पर्छन्, तब पनि उनीहरूमाथि ‘बलियो देखिनु’ को अपेक्षा रहन्छ । छोरा मान्छे ‘म थकित छु’, ‘म दुखी छु’, वा ‘म रोएर सहज महसुस गर्न चाहन्छु’ भन्न पाउँदैनन्, किनकि त्यस्तो भावना देखाउनु ‘कमजोरी’ को सङ्केत ठानिन्छ । समाजले सिकाएको यही आदर्शका कारण जीवन सङ्घर्षका क्रममा कठोर यातना श्रीमानहरु आफ्ना श्रीमती सामु खोल्न नरुचाएका हुन सक्छन् ।

सांस्कृतिक संरचना पनि यस मौनताको मूल कारण हो । फिल्म, साहित्य र सञ्चार माध्यममा प्रायः छोरा मान्छेहरू कठोर, समस्या समाधान गर्ने, र भावनात्मक रूपमा अडिग देखाइन्छन् । यस्तो चित्रणले पुरुषहरूलाई आफ्नो वास्तविकता लुकाउन बाध्य बनाउँछ । उनीहरूको भित्रको चिच्याहट एक किसिमको मौन बम बनिदिन्छ, जुन कुनै दिन विस्फोट हुन सक्छ–डिप्रेसन, आत्महत्या वा हिंसात्मक व्यवहारको रूपमा ।

मानसिक स्वास्थ्यका तथ्याङ्क हेर्दा पनि छोरा मान्छेहरूमा आत्महत्या दर महिलाहरूको तुलनामा दोब्बरभन्दा बढी देखिन्छ । तर मानसिक स्वास्थ्य सेवा लिने दर भने अत्यन्तै कम छ । किन ? किनकि उनीहरूलाई सिकाइएको छ, ‘तपाईँले आफैँ सँभाल्नुपर्छ, सहायता माग्नु कमजोरी हो ।’ महिलाहरू पुरुषत्व भित्रको मौनताको कारण बुझ्दैनन् अथवा छोरा मान्छेहरू आफू भित्रको यातना, उत्पीडन र चिच्याहट समाजलाई सुनाउन पाउँदैन र उसको अन्तिम विकल्प हुन्छ आत्महत्या ।

अब यो मौनता तोड्ने समय आएको छ । छोरा मान्छेहरू पनि मानिस हुन्, रोकिन सक्छन्, थाक्न सक्छन्, र आत्म–संवाद गर्न सक्छन् । यदि समाजले उनीहरूलाई सुन्ने मौका दियो, उनीहरूको बोलीलाई सम्मान गर्यो, र आँसुलाई कमजोरी नभई संवेदनशीलताको प्रतीक मानेको खण्डमा, उनीहरूको पीडा कम गर्न सकिन्छ ।

शिक्षा प्रणाली, परिवार, साथीभाइ र सञ्चार माध्यमले अब ‘पुरुषत्व’ को परिभाषा पुनः लेख्न आवश्यक छ जहाँ भावनात्मक अभिव्यक्ति पनि ‘मर्दाङ्गी’ कै हिस्सा होस् । रुन्चे छोरा मान्छेहरूलाई खिसी नगरिओस् । आफ्ना भावना पोखेका छोरा मान्छेहरूलाई कुरौटेको संज्ञा नदिइयोस् । आँसु लुकाउनुपर्ने बाध्यताबाट उन्मुक्ति दिइयोस् ।

अन्ततः, पुरुषत्व केवल शक्ति होइन, संवेदना पनि हो । जबसम्म पुरुषका आँसु बहन सक्ने बन्छन्, तबसम्म उनीहरूको पीडा मौन नै रहनेछ । हामी सबैको उत्तरदायित्व हो पुरुषको मौनतालाई सुन्ने, बुझ्ने र सम्मान गर्ने । किनभने मौन पुरुषहरूको पीडा कहिले काहीँ संसारकै ठुलो चिच्याहट हुन सक्छ जसलाई समाजले सुन्न बाँकी छ । पुरुषको चिच्याहट सुनिइदिँदा भवितव्य हुनबाट बचाउन सकिन्छ । परिवारमा सुखी भित्र्याउन सकिन्छ । समाज सुन्दर बनाउन सकिन्छ ।

वि.सं.२०८२ जेठ २९ बिहीवार १३:४० मा प्रकाशित

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...