कलानिधि दाहाल, काठमाडौँ
देशको शिरमा स्वार्थ नितान्त मुटु बोल्दछन्
निर्विकल्प निरङ्कुश मिली सर्वत घोल्दछन् ।
मनरक्षक नै छैनन् वनरक्षकका कुरा
कुरा नै झस्किने झस्का ताता लाग्छन् तिखा छुरा ।१।
बिर्सियौँ मनका मान्छे पुग्यौँ निर्जनका वन
वनजस्तो भयो उस्तै छैनन् सौजन्यकम मन ।
प्रशान्त शान्त गम्भीर गाढा गह्वर शीतल
म भएँ परको हल्का सुकेको पातको पल ।२।
कहाँ छल्का छुटी टाढा भिज्छन् चट्टान पत्थर
कुहुने म अझै शाखा छुटेको शुष्क पत्कर ।
कहाँ तरङ्ग चिसोको कहाँ इष्र्या म तापको
विनादम्भ हुने कैले म आह्लादक छापको ?३।
उसको जन्मको विन्दु उही हो मूलको घर
म अझै जन्मिदा लाग्थेँ साधा सौम्य समादर ।
ऊ छल्का छालमा ज्यादा निरपेक्ष छुटी छुटी
म स्वार्थ भरिदै अग्लेँ मन जन्मेर भुट्भुटी ।४।
ऊ आफैँ दौडियो दौड सङ्घर्षको झिकी बल
कडा ढिस्का फुटाएर बग्यो सल्सल सल्सल ।
मकैझैँ पिँधिए केही बाटाका सामु पल्लव
सङ्घर्षको हुँदा छाती अग्ल्यो बनेर आलय ।५।
म खुम्चेँ स्वार्थका हात आमाले थप्थपाउँदा
आँसु झरे कि वा भन्दै थैय्याले लप्लपाउँदा ।
घुँक्क घुक्क छुटेँ घुक्का आडमा अन्य नै हुँदा
माया यो विषको स्पर्श,स्पर्शले तनमा छुँदा ।६।
कतै घोचे हुने ऐय्या आई कोही समाउँने
दिल दुख्दा हुने ऐय्या कसैले थुम्थुम्याउँने ।
ताते गर्मी हुने ऐय्या कोही शीत चुहाउँने
जम्मै स्वार्थ दिनेसाथ ओठले मुस्कुराउँने ।७।
जन्म एक्लो दुवैको हो मृत्यु एक्लो म मात्रमा
निकम्मा स्वार्थ भो मेरो ऊ निस्वार्थ नितान्तमा ।
म बढेँ अन्यका साथ ऊ एक्लै दौडियो तल
खाँदखोच अझै डाँडाकाँडा पारेर जल्थल ।८।
सङ्घर्षमा जुटे हुन्छु आफ्नै यो मनसागर
निस्वार्थमा हिँडे जम्काभेटले छुन्छ जाँगर ।
दम्भ दाग सबै त्यागे छल्का छुट्छु म सागर
ऊ हो म म छु ऊजस्तै यात्रा हो एक अन्तर ।९।
छन्द : अनुष्टुप
वि.सं.२०८२ असार २८ शनिवार ०८:०३ मा प्रकाशित






























