चन्द्रमणि अधिकारी (अभिनव व्यास)
तनहुँ, नेपाल
छु ल्याएको हाँस्दै अभिनव कला व्यास म कवि
डुबी घुम्दै आएँ सकुशल गरें पार जलधि
अपेक्षा राखेको कवि मन गरोस् काव्य रचना
मिलाएको ज्ञानी रहर बलियो सत्य घटना ।१।
तपस्यामा बित्छन् सकल दिन सच्चा विनयमा
चढेका स्रष्टा छन् प्रतिक्षण उकालो अभयमा
सुनी बस्छन् एक्लै मन मन मजाको प्रवचन
सँगालोमा आओस् गुरुजन खुली सत्य वचन ।२।
कथा लेख्छन् साँचो सुगम क्षमतामा अविचल
छ सत्सठ्ठी वर्षे युवक समतामा अविरल
दिदी नीला गोरी प्रकट जननी तुल्य असल
फलाएका चेष्टा अगणित दिऊन् लाभ फसल ।३।
मथी झिक्दै नौनी मणिमहलमा बास छ खुला
चिनेकाले भन्छन् कवि अचम हो प्रेम–बहुला
रमाई चुन्दैछन् कुशल लय गन्तव्य सरल
भरी राख्छन् प्रज्ञा मणिमहल मन्तव्य सफल ।४।
सुरक्षामा बस्छन् गणपति कथाको उदयमा
सबै साक्षी साथी सरह श्रममा छन् विनयमा
चुनी आए म्याग्दे यस जनममा उत्तम थलो
गरौँ भन्ने इच्छा मुखर अझ झन् गर्न छ भलो ।५।
चलोस् राम्रो सोच्दै कवि भुवनमा चालचलन
सबै जम्मा पार्छन् मणिमहलमा छैन जलन
बनाएका हुन्छन् असल दिनचर्या प्रतिपल
विधाताले तोक्छन् असल कविको भाग्य झलल ।६।
उडी पुग्छन् स्रष्टा भुरुरु नभ ब्रह्माण्ड पर जो
मिसाएका हुन्छन् सुलभ उपलब्धी ठहर पो
भरोसामा नगद जसरी केशव अब
भनी जम्मा पार्ने भुवनभरको वैभव सब ।७।३
डुबी पौडी राख्ने सललल नदी भित्र रहमा
भरोसा एकर्का घुलमिल भएका तरहमा
मुखापेक्षी बन्ने गुरुसित मुखेन्जी छ सुगम
भनेकी छन् चास्नी सरह रचना होस् अनुपम ।८।
शनै डाके जस्ता शुभ हरफमा झल्ल कविता
शुभाकांक्षी शोभा सरल सुविधा साथ सविता
छु आँखामा देख्दै मलम मलिलो यो रचयिता
छ चाहेको गर्ने अवसर खुला रामरमिता ।९।
पढें चिठ्ठा पर्दा सरह म भएँ हर्षित अति
जुटेको मौकामा विजय सजिलो यो सहमति
सकेको हो बन्दा सरल विनयी गर्न प्रगति
सधैँ रक्षा गर्छन् झलमल गराई पशुपति ।१०।
छु उक्लेको सञ्चै गिरि सगरमाथा म चुचुरा
छु सोचेको जस्तो उस किसिमले बज्छ मुजुरा
दिनै पर्ने भिक्षा असल मनले छैन खुजुरा
जनाएको बेला शुभ दिन खुल्यो बास्छ कुखुरा ।११।
तिमी रानी पाएँ शिशुसित सफा लेख्न छ कथा
लिने काखामा छौ असल जननी साथ ममता
मिली रोप्ने भन्छ्यौ कुसुम कविता काव्यका छाल भित्र
बनाएकी जम्मै अवयव खुला हौसिएको छ मित्र ।१२।
समीक्षा आफ्नै होस् सब किसिमले शान्त सरल
जहाँ आकांक्षाले सुरभित बनी फल्छ फसल
खुली आएकोले प्रगति पथमा लग्न मगन
छु ल्याएको ऐले सहज यसरी बाँड्न मखन ।१३।
परीक्षामा बस्दा शिशुवय थियो कार्य कुशल
जहाँ विद्या वाणी मुखरित बने प्रेम युगल
मिल्यो शिक्षा दीक्षा उचित पलमा बन्न असल
चिनेकाले भन्छन् अचम कवि छन् पूर्ण सफल ।१४।
पढे हुन्थ्यो चासो अलिकति बढी जागृत गरी
नियाले राम्रो हो अविचल कथा भित्र छ परी
बनोस् म्याग्दे भन्ने मन वचनले सिद्धिनगरी
बसेका छन् स्रष्टा मुकुल महिमा सिर्जन गरी ।१५।
जजस्ले पढ्ला यी सुखद कविताका हरफ छन्
हुनोस् ऊर्जाशाली प्रखर प्रतिभा जो तरफ छन्
निराशा त्यागेको सब किसिमले सक्षम सदा
मिलेका देखिन्छन् मुखर कवितामा लय कथा ।१६।
पढी राखौं लाग्यो मलम कविता भित्र नजर
छ राखे जस्तो यो सकुशल अहा साथ रहर
बनाएको साथी जति पनि बढाई प्रतिपल
छु पाएको ज्ञानी अचम८ कविता यो झलमल ।१७।
छन्द : शिखरिणी
गण : य – म – न – स – भ – ल – गु
सङ्केत : ISS – SSS Ö III – IIS – SII – I – S
वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:०७ मा प्रकाशित




























