२९ जेठ, काठमाडौँ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुट भएका दुई वटा राजनीतिक दलले मात्र नाम र दस्तखतको नमुना निर्वाचन आयोगमा बुझाएका छन् ।
आयोगले खास गरी आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललगायतका राजनीतिक दललाई नाम र दस्तखत नमुना पेस गर्न आजसम्मको समय उपलब्ध गराएको हो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मधेस–तराई फोरम र लोक दलले मात्र नाम र दस्तखतको नमुना बुझाएका हुन् ।
आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि दलको तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन समयसीमा तोकेको हो ।
दस्तखत नमुना पेस गर्नका लागि दलको केन्द्रीय कार्यसमिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपी संलग्न गर्नुपर्ने जनाइएको छ । दलको मनोनयको औपचारिक पत्र प्रमाणित गर्ने पदाधिकारी आयोगमा अद्यावधिक गरिएको सो दलको केन्द्रीय समिति वा प्रदेश समितिको पदाधिकारी हुनुपर्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा दर्ता कायम रहेका ११३ राजनीतिक दलमध्ये निर्वाचन प्रयोजनका लागि ८० दलले दल दर्ता गराएकोमा ६३ दलले मात्र स्थानीय तह निर्वाचनका लागि आधिकारिक दस्तखत बुझाएका थिए । रासस
वि.सं.२०७४ जेठ २९ सोमवार १५:२५ मा प्रकाशित






























