गैरआवासीय नेपाली संघका अभियन्ता धरम केसीले अब हुने निर्वाचनहरुमा प्रवासी नेपालीहरुको मताधिकार सुरक्षित गर्न भन्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको ध्यानाकर्षण गरेका छन् । नेपालको सम्बन्धित सरकारी निकाय संघसंस्थाका तर्फबाट गम्भीर वार्ता गरी बिदेश स्थित नेपाली नियोगहरूबाटै फोटो सहितको मतदाता सूची अद्यावधिक गर्न पाउनु पर्ने र बिदेशबाटै मतदान समेत गर्न पाउनुपर्ने अधिकार र सुविधा सुनिश्चित गर्ने व्यवस्थाका लागि पहल गर्न भन्दै उनले अध्यक्ष घलेको नाममा पत्र लेखेका हुन् ।
यस्तो छ– उनले लेखेको पत्र :
अादरनीय अध्यक्षज्यु नमस्कार
निर्बाचन अायोगले फोटो सहितको मतदातासूची अद्यावधिक गर्ने बेलामा हामी प्रबासमा रहेको अवस्था र प्रबासमै रहेर अद्यावधिक गर्ने गराउने कुनै अप्सन (बिकल्प) नपाउंदा हामी धेरै प्रबासी नेपाली (नागरिक)हरूको हालै सम्पन्न स्थानिय निकायहरूको चुनावमा मतदाता सूचिमा नामै काटिन (नरहन) गएको तितो र मार्मिक दुरावस्थाबाट हामी भर्खरै गुज्रियाैं । म स्वयम तिनै पीडित र उपेक्षित मध्यमा परें, जो अाफ्नो गृहजिल्लामा स्थानिय चुनाव भैरहेका बेला नेपालमै पुगेको भएता पनि मतदान (को अधिकार) बाटै बञ्चित हुन पुगें (मतदाता सूचीबाट नामै हटार्इएको हुंदा) । अब फेरी निकट भबिश्यमै प्रदेश र सांसदहरूको चुनाव हुन गैरहेको र निर्बाचन अायोगले अति छोटो समय साउन १-१५ गते तदनुसार यही जुलार्इ १६-३० तारिख सम्म पुनः मतदाता सूची अद्यावधिक गर्न लागेको र सो का लागि अा-अाफ्नो गृह जिल्ला नै पुग्नुपर्ने भएकाले फेरी पनि हामी लाखाैं प्रबासी नेपालीहरू बिशेषतः बैदेशिक रोजगाररत नेपाली कामदारहरू जो संग नेपाली नागरिकता र नेपाली पासपोर्ट छ, बालिग र हर दृष्टीमा सुयोग्य र अधिकार सम्पन्न भएर पनि मतदानबाट बञ्चित रहंदै अाएका छाैं । हाम्रा लागि कमसेकम अब हुने चुनावहरूमा हाम्रो मताधिकार सुरक्षित गर्नका लागि नेपालको सम्बन्धित सरकारी निकाय संग संस्थाका तर्फबाट गम्भीर वार्ता गरी बिदेश स्थित नेपाली नियोगहरूबाटै फोटो सहितको मतदाता सूची अद्यावधिक गर्न पाउनु पर्ने र बिदेशबाटै मतदान समेत गर्न पाउनुपर्ने अधिकार र सुविधा सुनिश्चित पारिदिनुहुन अनुरोध छ ।
हामी सबै गैरराजनैतिक संस्थामा अाबद्ध रहे पनि हामी सबै कुनै न कुनै राजनैतिक दलप्रति अास्था राख्छाैं, अाफ्नो मुलुकको शासन कुन पार्टी र कस्ता ब्यक्तिहरूले गर्ने भन्ने बारेमा हाम्रो मत पनि प्रयोग गर्न पाउनै पर्दछ । हाम्रो नोट चल्ने तर भोट नचल्ने माैजुदा प्रथा र प्रावधानमा समय छंदै सुधार होस, यसका लागि यस संस्थाले सारा प्रबासी नेपालीहरूको प्रतिनिधित्व गर्दै अावाज बुलन्ध गरोस, हामी सबै साथमै हुनेछाैं ।
शुभेच्छा सहित
धरम के.सी. +966 567659775
वि.सं.२०७४ असार २६ सोमवार १५:२१ मा प्रकाशित






























