अमेरिकाको कोलोराडोमा गत डिसेम्बर २३ तारिख मालती मंगलेका नायक तथा वरिष्ट वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ । अमेरिका पुगेको अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मी, अभिनेता, निर्देशक, तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो ।
कार्यक्रममा प्राज्ञ हरिबहादुर थापाद्धारा अभिनित दश वटा नाटकको संक्षिप्त श्रब्य दृश्यका झलकहरु समेटिएका दश पाईला प्रदर्शन गरिएको थियो । गीती नाटक मालती मंगले, सकुन्तला, अमरसिह, देउकी, पहाड चिच्याई रहेछ , पृथ्वीनारायण शाह लगायत चर्चित नाटकहरुमा थापाले देउकीको बाबु देखि पृथ्वी नारायण शाह सम्मको भूमिका सफलतापूर्वक अभिनय गरेको तत्कालिन समाजको चरित्र झल्कन्थ्यो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा ,आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल र उपाध्यक्ष मीना पौडेलले फुलको माला लगाई दिई सम्मान पत्र प्रदान गरेका थिए ।
पाच बर्षको उमेरदेखि बाल कलाकारको रुपमा रंगमञ्च प्रवेश गरेका प्राज्ञ थापाले नेपालको राजकीय प्रज्ञा प्रतिष्ठान देखि अमेरिकाको न्यूयोर्क स्थित अफ द ब्रोड अवे थीयटरमा समेत नाटक निर्देशन र अभिनय गरिसकेका छन् ।
समारोहमा उनले चर्चित नाटकहरु फर्केर हेर्दा र जोडियोस् भत्केका मनहरुको साना टुक्रा अभिनय गरेर देखाएका थिए । अभिनन्दन कार्यक्रम विभिन्न संघरसँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनी जनवरीको दोस्रो हप्ता नेपाल फर्कने योजना रहेको छ ।
वि.सं.२०७४ पुस १३ बिहीवार ०४:१७ मा प्रकाशित






























