बेल्जियम । नेपालको विभिन्न भेगबाट बेल्जियम आइ बसेका तमुहरुले आफ्नो परम्परा देखि चलिआएको नयाँ पात्रोको रुपमा (कुकुर वर्ग) ल्होसार र ल्होछार बेल्जियममा समेत भव्यताको साथ सम्पन्न गरेका छन् । एकैदिन बेल्जियमका दुइ तमुहरुका संस्था क्रमस तमु समाज बेल्जियम र तमु धिं बेल्जियमले आफ्नो परम्परागत उत्सबलाई धुमधामसंग मनाएका हुन् ।
तमु समाज बेल्जियम, बेल्जियमको पुरानो जातिय सामाजिक संस्था हो भने तमुधिं बेल्जियम, तमु समाज बेल्जियमबाट केहि महिना अगाडी बिद्रोह गरेर अलग्गिएको नयाँ जातिय संस्था हो ।

औपचारिक कार्यक्रममा तमु धिंका अध्यक्ष नबिन गुरुङले तमु समाजमा स्वेच्छाचारिता र पारदर्शिताको सवालमा अन्तरविरोध बढ्दै गएपछि र सबै तमुहरुले अपनत्वको अनुभब गर्ने वातावरण समाप्त पारीएपछि बाध्य भएर बिद्रोह गरिएको जानकारी गराएका थिए । तर, तमु समाजका प्रतिनिधिहरु तमुधिंका पदाधिकारीको त्यो आरोप मान्न तयार देखिन्नन् । उनीहरुका अनुसार ‘जातिय संस्थामा राजनीति हाबी हुन गरिएको प्रयत्नलाई रोकिएको मात्र हो । अन्य कुरा आरोप मात्र हुन् ।’
तमु समाज बेल्जियमले संस्थाका अध्यक्ष जिबन तमुको सभापतित्वमा लुभेनमा भएको कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका नेपाली राजदुत लोक बहादुर थापालाई बनाएको थियो भने तमुधिं बेल्जियमले आन्त्वोर्पेंनमा गरेको पर्वमा एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाललाई प्रमुख अतिथि बनाएको थियो ।
तमुधिंले गरेको कार्यक्रमका अतिथिहरुमा तमु समाज बेल्जियमका संस्थापक राम बहादुर गुरुङ, डाक्टर धिरज तमु, गैह्र आवाशीय संघका ग्लोबल अनररी काउन्सिलर गोबिन्द सुबेदी, प्रगतिशील मोर्चाका युरोप संयोजक बिष्णु भिजेल, पत्रकार महासंघ युरोपका सदस्य शेर बहादुर छन्त्याल,जनसम्पर्क समितीका निबर्तमान अध्यक्ष सुभाष जोशी,जन प्रगतिशील मंच बेल्जियमका अध्यक्ष जित लामा, किरात समाजका मणि राई, ओएनयफका उपाध्यक्ष रंजन सिंखडा लगायतको उपस्थिति रहेको देखिन्थ्यो ।
तमुधिंका महिला प्रतिनिधिद्वारा अतिथिलाई खादा लगाई सम्मान गरिएको थियो भने नेपाली परिकारको खाना र सुमधुर सांगीतिक कार्यक्रमले उत्सबमा रौनकता थपेको देखिन्थ्यो ।
लुभेनमा भएको उत्सबमा पनि ब्यापक सहभागिता बिच कार्यक्रम भएको र राति अबेरसम्म नाचगान चलेको हाम्रा सम्बाददाताले बताए ।
मन्तब्य दिनेहरुको सबैतीर एउटै दुखेसो देखियो, कृपया एउटै प्रकृतिको कार्यक्रम नजुधाइयोस र तमु धिं तथा तमुसमाजले आफ्ना अन्तरविरोधहरु छिटो समाधान गरि एकताको गीत गुन्जेको छिटो सुन्न पाइयोस् । मंगलमय शुभकामना
वि.सं.२०७४ पुस १७ सोमवार ०४:४७ मा प्रकाशित




























