उ जिस्किदै छ मृत्युसँग

एउटा पहाड भन्दा जब्बर मान्छे
नजिस्क उसँग
उसँग इत्रिनु भनेको आगोसँग इत्रिनु हो
उ हावालाई रोकेर उभिन सक्छ
उसँग खेल्नु भनेको
आधिसँग जोरी खोज्नु हो
मन छ भने सिनित्तै बडारिन
चाहत छ भने नामेट हुन
खेल उस्को आगोको झिल्काहरुसँग
उभिनु उ चल्ने हुरिको बाटोमा
उ पत्थर भन्दा कठोर मान्छे हो प्रतिज्ञामा
कुनै त्रासले डगमगिदैन उसको सत्यको धरातल्
कुनै लोभले आकर्शित हुँदैन उसको अहम्
उ दृड्ताको आयुमा हिडिरहेको छ
उ सम्पूर्ण अध्यारोको विपक्षमा छ
उ सम्पूर्ण कालोको अन्त्योष्ठीको महाअभियानमा छ
नठान्नु उ निम्जो र एक्लो छ
नहेप्नु उ चुपचाप हुनु कमजोरी हो
उ मौन महासम्वादमा छ
उ शान्त महागुन्जनमा छ
उ मृत्युसँग महाविजयमा छ
तिम्रो समाप्ती पछिको महापरिवर्तनमा छ
तमाम तमामको आशाको केन्द्रमा छ
एउटा शालिन बिद्रोहको समापनमा छ
उ त्यागको अन्तिम सत्यमा छ
उ तिम्रो आडम्बरको महाघृणामा छ
सोच्यौ होला उ तिम्रो हैकमले गल्छ
तिम्रो त्रासले त्रसित हुन्छ
उ त फलेदोको रुखझैं सर्वाङग नग्न छ त्यागमा
एउटा पहाड भन्दा जब्बर मान्छे
उ त एउटा अजस्र उज्यालोको मुहानमा छ
कवि शेर्मा नेपाली आधुनिक कवितामा पहिचान स्थापन गर्न सफल तार्किक कवि तथा प्रखर समालोचक हुन ।
सत्ता र राजनीति

देशप्रेमी राष्ट्रवादीलाई पक्रनु पर्छ
अनियमितता विरुद्ध बोल्नेलाई नेल लगाउनु पर्छ
राष्ट्रघातीलाई सत्तामा अवसर छ यहाँ
करोडौंका प्रिय डाक्टर केसीलाई जेल हाल्नु पर्छ
मुक्तककार लेकाली अनेसासका केन्द्रिय विरष्ठ उपाध्यक्ष हुन ।
गजल

कठै ! मेरो देशको न्यायलयमा भ्रष्टचार हुन्छ
अहँ बोल्नु हुन्न बोल्यो भने उ गिरफ्तार हुन्छ
धेरै मिठा देखेका थ्यौं गणतन्त्र पछिका सपना
शिक्षा स्वास्थ्य न्यायमा समान अधिकार हुन्छ
व्यबस्थापिका कार्यपालिका न्यायपालिका हेर ?
सबै बिक्रिमा छन् पैसामा यसको व्यापार हुन्छ
निर्धक्क बोल्यो जनताको आवाज डा. केसीले
ऐक्यबद्धता छ हाम्रो एकै बोलि र बिचार हुन्छ
जनताको आँधी रोक्न सक्छौ ? रोक सरकार
जन कार्वाही छिट्टै तिमीहरुलाई उपहार हुन्छ
उमाकुण्ड ६,रामेछाप
हालः संयुक्त अरब इमिरेट्स
डा. केसी प्रति

ऊ निडर उभिएको छ
घामको नजीकै पञ्चाग्नी बालेर
सत्यका खातिर
बिना बस्त्र हिउँमा जमेर
गरिरहेछ तपस्या लगातार
एउटा पूर्ण सत्यको ।
बिचारको धमिलो बाडीबाट
सङ्लिनु छ
एउटा न्याय, उसको नजरमा
आफू हिंडेर मृत्युको बाटो
खोजिरहेछ अरुको निम्ति
निर्भय निर्भय गोरेटो ।
आऊ प्रिय साथी
हामी पनि सँगै हिडौं
उसकै हात समाएर
उसैसँग काँध मिलाएर
मसीले गर्जिएर आज
बहिरो शासकको
कान खोल्नुछ
आँखा खोल्नुछ
जसले सत्य जानेर पनि
निदाइरह्यो देश निल्ने अहंकार लिएर
र हत्या गरिरह्यो
दूर सपनाका भ्रुरुणहरुको ।
सरकार र शकुनी

म हेरिरहेकोछु
सर्बोच्छ अदालतमा फहाराई रहेको झ्ण्डा
र हेरिरहेकोछु
न्यायाधिशले लागएको कालो कोट !
ओ समय !
यो लय नमिलेको गीतजस्तो
बेसुरा राग कस्ले अलापिरहेकोछ
माफ गर्नु सरकार
तिम्रो प्रेस बिज्ञप्ति पनि
त्यो कालो कोटको
भित्री गोजिबाट टाइप गरेर निकालेको
सकुनिको पासा जस्तै
बेसुरा लागिरहेकोछ !
जसरी बेसुरा लागिरहेछ
न्यायाधिसको कोट
र अदालतम मुर्झाएको
राष्ट्रिय झण्डा !
इति
कवि गण्डकीपुत्र गाउँमा कविता अभियानका प्रवर्तक तथा अभियान्ता हुन ।
गजल

समयमा देश र जनता, चिन्न सकिनँ
गुमाएको इज्जत फेरी, किन्न सकिनँ
हरेक वादमा दलाली र माफियाको गन्ध आउँछ
न्याय बोकेर अन्यायलाई उछिन्न सकिनँ
एक्लो ध्रुब बृहस्पति, झुटा होला भन्ने लाग्छ
जी केसी को दर्शन बाटो, हिँड्न सकिनँ
गर्छु भन्ने व्यक्तिहरू कि त मर्छन कि हराउँछन
सुशासनका बाधा अड्चन, गिड्न सकिनँ
तीनकोटी आँखा टुलुटुलु तान्डप हेर्दै मर्छौ किन
न भनेस है थाकें, गलें, भिड्न सकिनँ
समसामयिक पद्य

गोविन्द केसी सुन नाम हेर
समात च्याप्पै थुन नाम हेर
शशी नराम्रो छ कहाँ बताऊ
राम्रो छ मान्छे जुन नाम हेर
गोपाल तार्ने सुर हुन् सबैका
भनेछ त्यस्ले घुन नाम हेर
विकल्प खोज्नै नसकेर गार्हो
स्वार्थी सबै छन् गुन नाम हेर
बने बनाए पछि बन्छ स्वच्छ
नारा चलेका चुन नाम हेर
चेला चपेटा किन जुर्मुरायौ ?
सक्दैन कोही छुन नाम हेर
छन्दः उपजाति
प्रश्नहरू अणुबम

मेरो दिमागमा दिनहुँजसो
प्रश्नहरूको जालो बेरिँदै बेरिँदै
अणुबम बन्ने प्रकृयामा छ
र यो विष्फोट भएको बेला
सबभन्दा ठूलो क्षति
मेरो शासकलाई हुनेछ
विद्यालय पोषाकमा मेरी बहिनीलाई देखेपछि
मेरी आमा झस्किँदै भन्नु हुन्छ
“लामो जामा काटेर
छोटो मिनिस्कट बनाउने कैँची
कहाँबाट आयो ?”
बिहान बिहानै टुप्पी शिखा पारेर
शुद्ध जल आचमन गर्ने बेलमा
पण्डित बाजेको आचमनीले
हिजोआज किन रेड्लेभल उघाउँछ ?
मैले आफ्नो गाँस कटेर
हुर्काएको मेरो घरको पङ्ग्रे कुकुर
हिजोआज किन
मैले “चोए” भन्दा नजिक आउँदैन ?
“आच्चे” भन्द पर भाग्दैन ?
प्रदुषित पश्चिमी हावा
एउटा सानो बेलुनमा भरेर
मेरो स्वच्छ आँगनमा ल्यायो
र सिन्काले घोचेर फुटाइदियो
त्यसैदिनदेखि मेरो च्याब्रुङमा प्वाल परेको छ
मेरो मादलको खरी झरेको छ
मेरो पालाम र हाक्पारेको मूलखाँबोमा
धमिरा लागेको छ
मेरो बालन र मालसिरीको निदाल मक्काएको छ
धान नाच्चनेहरुका
खुट्टा लर्बरिन थालेका छन्
लोक गायकहरूको
स्वर सुक्न थालेको छ
सबभन्दा पहिला
मेरो आँगनमा त्यो बेलुन कस्ले ल्यायो ?
मैले हरेक दिन चढ्ने गाडीमा
कम्पनीको नाम किन मेरो देशको छैन ?
मैले प्रत्येक छाक भात पकाउने भाँडो
तिउन पकाउने कराई र खाने थाल
कुन देशमा बन्छ ?
मैले दैनिक लगाएर हिँड्ने कपडामा
किन अर्कै देशको स्टिकर टाँसिएको छ ?
किन अर्कै देशको जुत्ता चप्पल
मेरो देशको माटो र मेरा पैतालाबीच सिमाना बन्छ ?
मैले प्रत्येक बिहान मुख धुँदा
अनुहारमा दल्ने साबुन
मेरो देशमा किन बन्दैन सरकार रु
किन बन्दैन ?
मेरो दिमागमा दिनहुँजसो
प्रश्नहरुको जालो बेरिँदै बेरिँदै
अणुबम बन्ने प्रकृयाम छ
र यो विष्फोट हुँदा
सब भन्दा ठूलो क्षति
मेरो शासकलाई हुनेछ
इति
गर्दैछ रक्षा अझै

रक्सी मासु घिचेर टन्न छ भुँड़ी बस्दैन भोक्कै रति,
त्यस्ताले उपवासको विषयमा जान्दैन एक्कै रति ।
मन्त्री बन्छ कमाउने रहरले चिन्ता कहाँ देशको,
मारी सत्र हजार शासक भयो के काम गोविन्दको ?
नेपाली जनता सबै सहजले शिक्षा तथा औषधी
पाऊन् ध्येय सदा छ उच्च यिनको नेपालवासी प्रति ।
मर्लान् यी विचरा बुढा मुलुकमा खाँदै नखाईकन,
केसीको शवमा चढ़ेर कतिले थाल्लान् यहाँ कुर्लन ।
केसी मोडल बन्नसक्छ कहिल्यै नेपालवादी दल,
खोल्लान् मानिस साथ दिन्छ कसले के हुन्छ रे हल्चल ।
केसीवाद चलोस् विभिन्न पथको धूलो उड़ाईकन
नेपाली हित मात्र गर्दछ भने मान्ने सधैं गर्छु म ।
भोक्कै बस्न अतीव दुष्कर छ है, नेताहरूले बुझून्,
माती टुन्न हुने प्रशासकहरू तत्काल वार्ता गरून् ।
केसी देश फुटाउने विषयमा भोक्कै बस्या हैन रे,
सी.के. राउतले र्गयो हठ भने वार्ता हुनेगर्छ रे ।
सीके राउतमा गरीकन दया मार्छौ कि केसी तिमी,
सीके ज्वाइँ समान खान्छ मजले नेपाल तोडौं भनी ।
केसी चाहिँ समस्त देशभरि नै सद्भाव भर्दोछ है ।
सीके राउतको प्रशासन भने गर्दैछ रक्षा अझै ।
छन्दः शार्दूलविक्रीडित
नेतालाई चिठी

मेरो बाग सजाउने अब यहाँ सोचौं ममात्रै छु नि
रक्षा फूल गरी हँसाइ रहने माली ममात्रै हुँ नि ।
साँच्चै सुन्दर फूलको रहरले माला नि उन्ने म हुँ
सोचे है मनले चरा गुडजसै यो देश बुन्ने म हुँ ।।
१
छोडी स्वार्थ सबै मिली सब तिमी राम्रो बनाऊ घर
सानोमात्र झरी परे नि चुहिने फालेर छानो खर ।
लामो त्यो जनयुद्ध घाउहरुका मेटेर लाखौं खत
नेता हो अब देशमा झिलिमिली माग्दै छु बत्ती म त ।।
२
नौंनौं मास मिली तिमी नबस है सत्ता सजाई यहाँ
यो हाम्रो अनमोल दुस्ख पसिना भत्ता पचाई यहाँ ।
लौ जम्दो सरकार यो मुलुकमा चाहिन्न कैले बुझ
बिन्ती आज म भन्छु मान सहजै जन्ताहरूको सुझ ।।
३
नानी लाग्छ भने तिमी दिनदिनै आँखा बचाऊ अब
मेरो हात छ है बुझी मुलुक यो भन्छन् नखाऊ सब ।
लाग्ला पाप कुकर्मले अब बुझे हो जानकीको घर
पूर्खा वीर सपूतको रगतको माने तिमी लौ डर ।।
४
राम्रो फूल यहाँ फुलाउँछु भनी कैले नसोच्ने भयौ
मौरी आज यही भुलाउँछु भनी ऐले नसोच्ने भयौ ।
आफ्नै मात्र कुरा गरेर जनको चुस्ने भयौ रग्त यो
तिम्रो हात अखण्ड खातिर अझै माग्दै छ है देश यो ।।
५
आफ्नै प्राण बुझी बुझी अझ मुमा साँच्चै खुशी पार है
जप्दै बुद्ध रमेर शान्तिरुपि त्यो श्रीखण्ड यै सार है ।
तिम्रै आश गरी बसेछु सबले भन्दै छ सोचे ल है
आत्मानेत्र खुले विकास गतिमा नेपाल जानेछ है ।।
६
राम्रो फूल तिमी चुडेर जनको तारो नबन्नू यहाँ
प्यारो पुत्र सधैं र आज जलको धारो छ बन्नू जहाँ ।
बाँडी देश प्रदेशमा अब तिमी कुर्सी नखोज्नू नि है
हाँक्दा देश तिमी पवित्र मनले नेपाल रोज्नू नि है ।।
७
छन्द : शार्दूलविक्रीडित
साधुलाई शुली ?

सी.के.को हात भन्दै भ्रम भँवर परी बाँधिए छन् कि के.सी.?
के.सी. साझा सबैका हितकर मित हुन् के स्वदेशी मदेशी
देशी सेवा चिकित्सा सुलभ गरिबमा होस् बनोस् स्वस्थ देश
देश प्राणै बुझेका मणि दमन गरी, काँच प्यारो विदेशी ?
छन्दः स्रग्धरा
युद्ध विराम गर्नै पर्छ

हे महामानव,
तिम्रो अनसन
एउटा युद्धको युद्धविराम हो ।
उठ !
अब युद्धविराम अन्त्यको घोषणा गर ।
तिमी मर्यौ भने
तिम्रो शवयात्रामा
मलाई थाहा छ धेरै आउँने छन् ।
तर सायद
तिमीलाई थाहा छैन होला,
शवयात्राको अग्रपङ्तीमा
कमिसन, भ्रष्टाचार र घुसखोरी हुनेछन् ।
तिमीलाई मार्नेहरुले नै
तिमीलाई काँधमा बोकेर आर्यघाट लानेछन् ।
जसका लागी तिमी युद्ध गर्दैछौ ,
त्यो जमात शवयात्राको अन्तिममा हुनेछ ,
तिमीलाई छुन त के देख्न पनि पाउँने छैनन् ।
केवल अविरल वगेका अश्रुधाराले
जले पछिको तिम्रो चिता पखाल्ने छन् ।
हे पवित्र आत्मा,
तिम्रो अनसन यो अनन्त युद्धको युद्धविराम हो ।
जसरी युद्धविराम गर्दा
दुबै पक्ष शक्ति संचय गर्नमा लाग्छन् ,
तिमी पनि त गर्दैछौ ।
नपत्याए हेर त तिमीले बनाएका मानव वारुदहरु ,
मानव सेलको न्यूक्लियसबाट बनेका न्यूक्लियर बम हरु ।
केवल तिम्रो ईसाराको आगमनको प्रतिक्षामा छन् पड्किनलाई !
उठ अब हे नायक ,
तोडिदेउ यी अनसनका युद्धविरामहरु ।
बजाउ पान्चजन्य र देउ आदेश ,
आफ्ना सन्चीत शक्तिहरुलाई पड्किन ।
दुर्योधन र शकुनीहरू डराइसके ,
तिनीहरुको आशन डग्मगाइसक्यो ।
हेर त अर्जुनहरु लड्न तयार छन् ।
दबाऊ ट्रिगर अनि हेर !
ती स्वचालित पड्किने छन् आफ्नो गन्तव्यमा पुगेर ।
अनि हेर उन्मुक्त हाँसिरहेको आकाशलाई,
अनन्त मुस्कुराईरहेका मुहारहरुलाई ।
हे कर्मयोगी निर्णय तिम्रो हो ,
आफु मरेर तिनीहरुलाई मलामी बनाउँने कि
आफु बाँचेर देशलाई पनि बचाउँने ?
युद्धविराम को अन्त्य गर महामानव,
मेरालागि गर ।
उस्कालागि गर ।
जुरुक्क उठ अब ,
र शंखघोष गर कि अब निर्णायक युद्ध हुनेछ ।
युद्धविराम बिनाको युद्ध हुनेछ ।
तीन करोड बम आफैं पड्किने छन् ।
समय सन्धर्भ

चंगुल भ्रस्टको जालो, पार्नै पर्दछ निर्मुल
उधेष्य गतिलो बोक्दै, लम्किदै थे निरन्तर ।
सम्झेर देशको माटो, निस्वार्थ कर्म गर्दथे
पीडा ब्यथा जता पर्थ्यो, उतै नै अघि सर्दथे ।।१।।
अशिक्षा गरिबी रोग, रास्ट्रको हुन्छ बाधक
विरुद्ध लड्दछु साथी, भन्थे जागृत साधक ।
बिसंगती बिना बन्छ, समाज शान्त सुन्दर
रास्ट्र उत्थान मा लागौं, निस्वार्थ भाब ले तर ।।२।।
भन्डाफोर गरौं आज, बेथिति जति छन यहाँ
यो रास्ट्र हितका लागि, बाधा हुन्छ समग्रमा ।
विधि बिधानको खाका, पुगोस् दुर दराजमा
सबै काख नहुन् पाखा, यहि उत्तम सारमा ।।३।।
स्वस्थ देश बनोस् भन्दै, भोकै पेट बसे तर
खुस्किए भ्रस्टका धोती, खुस्किए कृत्य ताण्डब ।
चौतारि चोरका निम्ति, शुली चड्दै छ सज्जन
उज्यालो मार्गमा हिड्दा, उल्टै लाग्दैछ लान्छना ।।४।।
छन्दः अनुष्टुप्
मेरो देश हुँदैन दास कहिल्यै हे माफियाका दल

सेतो रुन्छ हिमाल बन्छ झरना कल्ले व्यथा बुझ्दछ
अग्लो रुन्छ पहाड आँसु९सरिता तातो सँधै बग्दछ
रेटी रून्छ हियार तार दुनियाँ क्या धून वा ! भन्दछ
सारङ्गी मन त्यो परन्तु नबुझी संसार यो हाँस्दछ
हावा सिर्सिर रुन्छ पातहरूमा हल्ला फिँजाएसरि
चर्को घाम छ धर्धरी शिशिरमा बाक्लो तुवाँलो परी
साँच्चै रून्छ कि चन्द्रमा क्षितिजमा कालो त्यहाँ दाग छ
रोएरै उर तप्त बन्छ कविता संसार यो हाँस्दछ
धर्ती रुन्छ तरक्क आँसु गहको पानी बनी बग्दछ
फाटी वादल वक्ष रून्छ नभ त्यो झम्केझरी पर्दछ
कल्ले बुझ्दछ के छ दुःख कुन त्यो अन्तर्यमा पस्दछ
आफैँ भित्र म रुन्छु किन्तु नबुझी संसार यो हाँस्दछ
सोझा निम्ति सजाय मिल्दछ जहाँ अन्यायले गाँज्दछ
जैले लोक मिलेर जाग्दछ त्यहीँ नै न्याय मौलाउँछ
मेरो देश हुँदैन दास कहिल्यै हे माफियाका दल
कालो होस् जतिनै किमार्थ सुन है फाट्ने छ यो वादल
छन्द :शार्दूलविक्रीडित
वि.सं.२०७४ पुस २६ बुधवार ०६:३५ मा प्रकाशित





























