back
CTIZAN AD

कविताः गौँथली र म

वि.सं.२०७४ फागुन २१ सोमवार

825 

shares

कविताः गौँथली र म
महेश पौड्याल, काठमाण्डौ नेपाल

शिशिरमा मसँगै
बाक्लो तुसारो ओढेर,
बर्खामा मसँगै
जोगमाईको बगरजस्तै निथु्रक्कै रुझेर
कहिले वर, कहिले पर
उद्यानहरूबाट चुच्चाभरि जिन्दगी टिपेर हुर्र्किएका हुन्
कठै, यी गौंथलीका बथानहरू ।

कति छिमल उडिसके कति, यी गौंथलीहरू
मेरो घरको धूरीबाट ।
उनीहरूले आकाशमा
मकालु र कञ्चन्जंघा जोड्ने पुल हाले
र अलिकति अग्लिए
मैले एउटा पुस्तेनी कुटुम्बसँग नाता तोडेँ
र अलिकति होच्चिएँ ।
उनीहरूले वर्षातसँग पग्लन नपाउँदैको
इन्द्रेणीको रङ्ग टिपे
र फुलाए धरतीभरि गुराँस
अनि आफू पनि अलिकति रँङ्गिए,
मैले, माई किनारमा लाग्ने
बिहीबारे हाटमा जीवनका सबै मृदु रङ्गहरू
थापिदिएँ दाउमा
र खालजस्तै धमिलिएँ ।
सधैँ मिर्मिरेमा घाम बोलाए उनीहरूले
र सुलबुङको लेकभरि पोतिएको अँध्यारो पखाले
र अलिकति उज्यालिए आफैँ पनि
सबै उज्यालोमाथि कालो मसीले
आनै नाउँको सहीछाप लगाएँ
र अलिकति धमिलिएँ म, आफैं पनि ।

आखिर—
मसँगै हुर्किएका गौँथलीका बथानहरू
कहाँ–कहाँ पुगिसक्दा आकाशमा
टाढा–टाढा पुगिसक्दा धरतीमा
म उनीहरूले मेरो उद्यानबाट टिपेको
एक मुट्ठी धानचामलको हिसाब–किताबमा
रात–रातभर अनिदो बसिरहेछु ।

उनी चराहरू यसबेला
इन्द्रेणी सोचिरहेछन् आकाशमा,
जुन बेला म मान्छे
यहाँ धरतीमा
गुलेली सोचिरहेछु ।

इति

वि.सं.२०७४ फागुन २१ सोमवार ०५:१९ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

कविता : डिग्रीको बाघ

कविता : डिग्रीको बाघ

हिरा भट्ट "बदमास नम्बर दुई" पञ्चेश्वर-६,बिजुल, बैतडी आमाको घरमा खुसीसित...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...