१६ असोज,काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताउनुभएको छ ।
तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबाट अङ्ग्रेजको प्रभावलाई रोक्न सकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अझैपनि विश्वका कतिपय मुलुकमा हिंसात्मक आन्दोलन चलिरहेको छ । त्यसलाई रोक्नु जरुरी छ ।”
पूर्व प्रधानमन्त्री देउवाले विश्वलाई शान्तिको सन्देश दिन सकेका कारण गान्धी अन्तर्राष्ट्रिय व्यक्ति बनेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सुखी समाज निर्माणका लागि अहिंसालाई अङ्गिकार गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – स्वतन्त्रता, समानता र बान्धुत्व लोकतन्त्रको आधार हुन् । तीनै कुरालाई आत्मसात् गर्न सकिए मात्र मुलुकमा स्थायी शान्ति कायम हुन्छ ।
नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री दिनानाथ शर्माले मानव–मानवबीच रहेको भेदभाव नै हिंसा हो भन्नुभयो ।
भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले अहिंसात्मक आन्दोलनलाई अगाडि बढाएका कारण गान्धी भारतको मात्र नेता नभई विश्वकै नेता बन्नसकेको बताउनुभयो ।
एकेडेमीका प्राचार्य एवम् पूर्वराजदूत प्रा डा जयराज आचार्यले सन् १९०७ मा भएको राष्ट्रसङ्घ महासभाले सर्वसम्मत रुपमा अक्टोबर २ लाई विश्व अहिंसा दिवस मनाउने निर्णयअनुसार अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन थालिएको बताउनुभयो ।
एकेडेमीले सन् २००८ देखि नेपालमा अहिंसा दिवस मनाउँदै छ ।
‘गान्धीको असाधारण नेतृत्व’ सार्वजनिक
‘गान्धीको असाधारण नेतृत्व’ नामक पुस्तकको नेपाली संस्करणको आज सार्वजनिक गरिएको छ ।
भारतीय कुटनीतिज्ञ पास्कल एलेन नजारथले लेख्नुभएको उक्त पुस्तकमा सत्य र अहिंसावादी भारतीय नेता महात्मा गान्धीको असाधारण नेतृत्व, उहाँको सङ्घर्षशील जीवन र भोगाइलाई समेटिएको छ ।
भारतको सर्वोदय इन्टरनेसनल ट्रस्टले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद कर्णप्रखर धितालले र सम्पादन किशोर नेपालले गर्नुभएको छ । पुस्तकको मूल्य रु ४०० रहेको छ ।
गान्धी जयन्तीका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पुस्तकको लोकार्पण गर्दै परिवर्तनका लागि हिंसा र हतियार हैन सत्य र शान्तिपूर्ण बाटो नै उपयुक्त हुने गान्धीले दिनुभएको स्मरण गर्नुभयो ।
नेपालका लागि भारतका राजदूत रणजित रायले सत्य र अहिंसावादी आन्दोलनका प्रतिमूर्ति गान्धी भारतका लागि मात्र नभई विश्वकै उदाहरणीय व्यक्तित्व भएको बताउनुभयो ।
पुस्तकका लेखक नजारथले गान्धी अहिंसा मात्र हैन सत्यका पनि पुजारी थिए भन्ने पक्षलाई पुस्तकले उजागर गर्न खोजेको बताउनुभयो । रासस