back
CTIZAN AD

आफ्ना उम्मेदवारलाई समर्थन गर्न नेपाल सरकारसँग फ्रान्सको अनुरोध

वि.सं.२०७३ कात्तिक १ सोमवार

999 

shares

१ कात्तिक,काठमाडौँ  । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को भावी महानिर्देशकका लागि फ्रान्सले आफ्ना नागरिक प्रा डा फिलिप डुस्ट ब्लाजीलाई समर्थन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

संयुक्त राष्ट्र सङ्घका उपमहासचिव एवम् महासचिव बान की–मुनका ‘विकासका लागि वित्तीय नवप्रवर्तनसम्बन्धी विशेष सल्लाहकार’ प्रा ब्लाजीलाई समर्थन गर्न फ्रान्सले नेपाललाई औपचारिक रुपमा आग्रह गरेको हो । महानिर्देशकका निम्ति समर्थन जुटाउन नेपालको औपचारिक भ्रमणमा रहनुभएका प्रा ब्लाजीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम र मध्यम आय भएका मुलुकमा आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न डब्ल्युएचओलाई प्रभावकारी तुल्याउन अपरिहार्य भएको बताउँदै त्यसका लागि आफूले दृढताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।विश्वको ९० प्रतिशत जनसङ्ख्या अर्बुद, मधुमेहजस्ता नसर्ने रोगबाट प्रभावित भएका र उक्त रोगको स्थिति कम र मध्यम आय भएका देशमा भयावह बनिरहेकाले त्यसविरुद्ध लड्न र अन्तर्राष्ट्रिय समुदायको साथ एवम् समर्थन जुटाउन आफूलाई फ्रान्स सरकारले उक्त पदमा उम्मेदवार बनाएको उहाँले स्पष्ट गर्नुभयो । सङ्क्रामकभन्दा गैरसङ्क्रामक रोगबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बर्सेनि बढ्दो क्रममा रहेको जानकारी दिँदै प्रा ब्लाजीले डब्ल्युएचओलाई अझ प्रभावकारी बनाउने प्रण गर्नुभयो ।

डब्ल्युएचओका एक सय ९४ सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयमा उक्त विश्व संस्थाका विशेषज्ञ प्रतिनिधिको व्यवस्था गर्ने आफ्नो लक्ष्य सुनाउँदै उहाँले स्वास्थ्यमा गरिने लगानीबाटै राष्ट्रहरुको समृद्धि सुनिश्चित हुने बताउनुभयो । “जनस्वास्थ्य प्राविधिक विषय मात्र होइन, यो राजनीतिक मामिला पनि हो,” शिक्षा, स्वास्थ्य, सरसफाइ, अर्थलगायत विभिन्न मन्त्रालय र निकायसँगको सहकार्यबाट मात्र जनतालाई रोग लाग्नबाट जोगाउन सकिने तर्क गर्दै उहाँले भन्नुभयो ।

नेपालका चिकित्सकलाई समयसापेक्ष प्रशिक्षित गर्न फ्रान्सले यसै वर्षभित्र विशेषज्ञ चिकित्सक नेपाल पठाएर तालिम दिने र केही नेपाली चिकित्सकलाई फ्रान्समा नै तालिमको व्यवस्था गरिने जानकारी पनि उहाँले दिनुभयो । फ्रान्स–नेपाल सहयोगअन्तर्गत त्यस्तो प्रशिक्षणको व्यवस्था मिलाइएको उहाँको कथन थियो । औलो, डेँगुजस्ता घातक रोगको उपचार, खोपको पर्याप्तता एवम् व्यवस्था, स्वास्थ्य सेवामा सम्पूर्ण मानव जातिको पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य उद्देश्य एवम् लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।

आजै आफूले स्वास्थ्यमन्त्री गगनकुमार थापासँग भेटवार्ता गरेको र उहाँका स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी योजनाबाट आफू प्रभावित भएको बताउँदै उहाँले अत्यावश्यक औषधि र उपकरणमा सबै नेपालीको पहुँच हुनुपर्छ भन्ने मन्त्री थापा र आफ्नो मान्यता समान रहेको जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठन कार्यकारी समितिको सदस्य नेपालबाट फ्रान्सले समर्थनको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

फ्रान्सका विदेश, स्वास्थ्य, संस्कृति तथा सञ्चारमन्त्री एवम् राष्ट्रिय सभा सदस्य र युरोपेली संसद्का सदस्यसमेत रहिसक्नुभएका ६३ वर्षीय प्रा ब्लाजी मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।

महानिर्देशक पदका लागि बेलायत, पाकिस्तान, इथियोपिया, इटाली, हङ्गेरी र फ्रान्सले उम्मेदवारी दिएका छन् । कार्यकारी समितिले महानिर्देशकका तीन प्रत्यासीको नाम आगामी मे महिनामा हुने महासभाअघि सार्वजनिक गर्नेछ । कुनै एक उम्मेदवारमा सर्वसम्मत नभए महासभामा उपस्थित हुने सदस्य मुलुकका स्वास्थ्यमन्त्री वा उसको प्रतिनिधिले मतदान गर्ने प्रावधान छ । यसअघि उक्त पदमा नेपालले डा रीता थापालाई उम्मेदावर बनाएको थियो । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:५४ मा प्रकाशित

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...