२ कात्तिक,काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई÷मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिनुभयो ।
नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले संविधान संशोधन प्रस्ताव सदनमा छिटो प्रस्तुत गर्न माग गर्दै संविधान संशोधनले मात्र तराई ÷मधेसको समस्याको समाधान हुन्छ भन्नुभयो । सोही दलका राधेश्याम अधिकारीले कानुनी राज्य कायम गर्न सरकार किन डराइरहेको छ भन्ने प्रश्न गर्दै कानुनभन्दा माथि कोही हुन सक्दैन भन्नुभयो । उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख बिदामा बसेका बारेमा सरकारले सदनमा जानकारी दिनुपर्छ भन्नुभयो ।
काँग्रेसकै तेजुलाल चौधरीले प्रधानमन्त्रीले संविधानका बारेमा बोलेका कुरालाई व्यावहारिक रूपमा कहिले पूरा गर्नुहुन्छ भन्ने प्रश्न गर्दै संविधान संशोधनका विषयमा उहाँको बोलाइ र गराइ फरक रहेको पाइएको बताउनुभयो ।
नेकपा (एमाले)का भरतमोहन अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिक्स सम्मेलन र त्यहाँ उहाँले गर्नुभएको द्विपक्षीय भेटघाटका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो । सोही दलका रेवतीरमण भण्डारीले संविधान संशोधनका बारेमा सरकारले प्रमुख प्रतिपक्षी दलसित कुनै संवाद नगरेको बताउँदै बिनासंवाद संविधान संशोधनको प्रस्ताव सरकारका तर्फबाट नल्याउन चेतावनी दिनुभयो ।
एमालेकै रामहरि सुवेदीले भूकम्पपीडित जनताका गुनासा कहिले सुनुवाइ हुन्छ भन्ने प्रश्न गर्दै उनीहरूलाई आवास निर्माण गर्न प्राविधिक सहयोगको खाँचो रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का हरिबोल गजुरेलले सबै दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव सदनमा प्रस्तुत गर्न माग गर्दै संविधान संशोधन गर्दा सहमत भएका दलले पनि सहयोग गर्नुपर्छ भन्नुभयो । सोही दलका श्यामकुमार श्रेष्ठले भूकम्पपीडितलाई आवास निर्माण गर्न सरकारले दिने भनेको अनुदान वितरण गर्न रामेछापमा ढिलाइ भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुन्तीकुमारी शाहीले स्थानीय निर्वाचनमा सरकारको ध्यान नगएको जनाउँदै संविधान संशोधन गर्दा प्रतिपक्षी दलको पनि सल्लाह लिन सुझाव राख्नुभयो ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गीता क्षेत्रीले जलवायु परिवर्तनले कृषि क्षेत्रमा गम्भीर असर परेको बताउँदै प्राकृतिक संरक्षणमा ध्यान दिनसरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्रीले भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिनुभएको बारे सदनमा जानकारी गराउन माग गर्नुभयो ।
नेपाली पुजारीको माग
संसद्को आजको बैठकको शून्य समयमा सांसद् शान्तिदेवी चौधरीले उदयपुरको गाईघाट पुग्ने सडक जीर्ण भएकाले र आवातजावतमा कठिनाइ भएकाले तुरुन्त मर्मत गर्न माग गर्नुभयो ।
सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा भूकम्पपछि एकातिर जनताको दयनीय अवस्था रहेको तथा अर्कातिर बँदेल र बाँदरले कृषकको बालीनालीलाई नष्ट गरी दुःख दिएको गुनासो गर्नुभयो ।
सांसद सकलदेव सुतिहारले राजविराज पुग्ने जीर्ण सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद हर्क राईले पशुपतिनाथ मन्दिरको मूल पुजारी भारतीय भएकाले त्यसको सट्टा नेपाली पुजारीको व्यवस्था गर्न माग गर्नुभयो । रासस