back
CTIZAN AD

जङ्कोटकी आमा !

वि.सं.२०७५ फागुन १३ सोमवार

768 

shares


उमेरले चाउरी परेकी
दुःखले दाउरी परेकी
भोकी, प्यासी र उदासी
लुम्री, झुम्री र कुप्री
यौटा ताराको खोजीमा
यौटा सहाराको खोजीमा
शहीद छोराको खोजीमा
वालुवाटारको पटाङ्गिनीमा
घामको झुल्कोसगै भेट भइँन
जङ्कोटकी आमा !

रोल्पा जङकोट हो वावू घर
जङकोट घर भन्नु मात्रै
घर त उहिलै खरानी पारे
छोरो पुर्खेलाई कुटीकुटी मारे
राहत गयो भन्छन् वावू
खै कस्ले हात पारे पारे
जिल्लाका कर्मचारी
छोरालाई मार्ने जस्तै अनुहारका थिए
तिमी शहीदकी आमा नै हैनौ भने
छोरा शहीद भएकै हैन भने
प्रशासनको खातापातामा
छोराको नामै छैन भने !

वावू यी यही हो छोरो पुर्खेको फोटो
गाउँभरीका लागि
आँखामा हाले पनि नविझाउँने थियो
लखेटी लखेटी मारे
कुटी कुटी मारे
यी यो मेरो प्रमाणपत्र
शहीद परिवार समाजले दिएको
यी यो पुर्खेको नाम
अनी यो नग्रिता हो वावू मेरो !

मैले भोट खसालेर जिताएका प्रचण्ड
(प्रधान) मन्त्री भा छन् रे
हिजो आज
यही घरमा वस्न आ छन् रे
सहरका मान्छेले एतै देखाई दिए !

जङकोबाट लिवाङ झरें
लिवाङबाट दाङ झरें
भाडा तिर्न भाडा थिएन
माग्दै माग्दै आए
ओढ्ने थिएन, ओछ्याउने थिएन
जाग्दै जाग्दै आए
शहीदकी आमा मै हुँ भन्ने
शहीद भएको पुर्खे नै हो भन्ने
नाता प्रमाणित गर्न !

लौ न वावू
(प्रधान) मन्त्रीलाई भेट्टाइदेउ !

आमा आगनमा वसेर
मन्त्रीको खवर पर्खीरहिन
मन्त्रीलाई खवर पुग्यो पुगेन
तार कही बीचमै चुँडियो
आमाको छेवैबाट
कालो शिशा भएको गाडी
साइरन वजाउदै चिप्लियो
र सडकको बीचमा
साइरनको धुन मधुरो हुन थाल्यो !

आमाले मन्त्री त देखिनन्
मन्त्री चढ्ने भाँडो मात्रै देखिन
साइरनको धुनसगै
आमाको मुहार पनि मधुरो भयो
ती महान आमाले सोचिन-
विचरा मन्त्रीलाई हतार रहेछ
पक्कै फर्कदा भेट्छ !

भरदिन आमाले भोकै
वालुवाटारको घाम तापिन
साँझमा फेरी सरकारी भाँडो
स्याल कराए जस्तै कराउँदै
आमाको छेवैबाट चिप्लियो
र वालुवाटारभित्र हरायो !

जङकोटकी आमा
शीत र सिरेटोसँग मित लगाउँदै
वालुवाटारको विकासी वालुवामाथी
मन्त्रीलाई पर्खीरहेकी छिन्
भित्र मन्त्रीलाई यो खवर पुग्यो पुगेन
हुनसक्छ,
व्यस्त, वेखवर विचरा मन्त्री
भित्र मस्त निन्द्रामा होलान्
र सपनामा शहीद परिवारसँग
सपनाका कुरा गर्दै होलान !

बाहिर सिरेटोमा जङकोटकी आमा
आकासतिर फर्केर
असंख्य ताराहरु मध्य
कुनै एउटा तारामा
पुर्खे छोराको अनुहार पढ्दै
तारा वनेको छोरालाई भन्दै होलिन-
‘ए प्यारो छोरा
ए पुर्खे
ए शहीद छोरा
मिल्छ भने आइज न वावू
म अलपत्र पर्नलागें
एकैछिन् आइज
र मन्त्रिसँग भेट गराइदिएर
वरु फेरि फर्केर जा
ल न पुर्खे
ल न छोरा
एत्ति काम गरिदे वावु !

ती आमाको अनुहारमा
मैले मेरी आमा पढें
एतिवेला सोच्छु
यदि मेरी आमा
शहीद हुने कान्छो छोरो
मेरो कान्छो भाइ
शहीद भएको प्रमाणित गर्न
यही ठाउँमा आएकी भए
र यही गोता खाएकी भए
म के गर्थें हुँला ?

ए शहीदकी आमा ए
जङकोटकी आमा
ए पुर्खेकी आमा
यसपाली मलाई क्षमा गर
अर्को चोटी म पक्कै पनि
मन्त्री भेटाइदिने छु
तिम्रो छोरा
मेरो भाइ
शहीद नै हो भन्ने प्रमाणित गर्न
पक्कै सहयोग गर्ने छु !

(सत्य घटनामा आधारित । २०६५साल मङ्सिर २२ गते बालुवाटारको गेटभित्रको क्यान्टिनमा भेटिएकी थिइन यी आमा ।
फोटो नविन विभाषको वालबाट साभार)

वि.सं.२०७५ फागुन १३ सोमवार २०:०१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...