जीवन बर्गीय हुन्छ भन्छ भने कोही
उसलाई सोध्नु छ
मरण किन बर्गीय हुँदैन
जीवनको उत्सवजस्तै
मृत्युको शोक पनि किन बर्गीय हुँदैन ?
सत्ताधारी र विद्रोही
सँगै रुने मृत्यु
अहो, यस्तो चमत्कार सँधै हुदैन !
यस्तो जादु सवै देशमा हुदैन
त्यस्तो यस्तै मौसममा हुन्छ
र त्यो नेपालमा मात्र हुन्छ !
केही शोकहरूले
सार्वभौम बनेको भ्रम दिन्छन
भ्रमको माहोलमा एक क्षण
निलम्वित हुन्छ मार्क्सवाद
लापत्ता हुन्छ बर्ग
निरिह हुन्छ पक्षधरता
र एउटै लयमा
हिक्क हिक्क गर्छ देश !
मलाई कसैको असमायिक मृत्यु
यस कारण खतरनाक लाग्छ
त्यसको लपेटामा परेर
विचारधाराले समेत आत्महत्या गर्छ !
कसैको मृत्यु
कसैका लागि जरुर शोक हो
म त्यति मुर्ख पनि छैन
शोक मनाउँन पाउँनु
कसैको नैसर्गिक अधिकार हो
त्यो पनि म मान्छु
तर त्यस्तो मृत्यु आउँदै नआओस
जुन मृत्युपछि
सवैभन्दा अलमलमा पर्छ मान्छे !
मृत्यु वर्गीय हुँदैन भने
सडक दुर्घटना र हवाई दुर्घटनामा
किन घटी बढी मान्छे रुन्छन ?
हरेक दिन आउँने मजदूरको लास हेर्न
किन सरकार जहाज गिरान जाँदैन ?
र किन सयौं मानिस एकै दिन मर्दा पनि
कैलै राष्ट्रिय शोक मनाइन्न ?
मजदूरको मृत्यु र शासकको मृत्यु
कसरी एउटै हुन्छ ?
आर्यघाटको चिता पनि फरक हुन्छ
मलामीको ताँती र
सलामीको शान पनि फरक हुन्छ !
फेरि एक पटक देशमा
मार्क्सवाद खारेज गरेर
विद्रोहीदेखी सत्ताधारीसम्म
एउटै लवजमा हिक्क हिक्क गरिरहेछन !
कुनै गुमनाम तागतले
निभाइदिएको छ विवेकको बत्ती
र मानिसहरू सवैभन्दा उल्लू बनेका छन !
म एतिखेर,
खतरानाक मृत्यु देखेर
औधि डराएको छु !
सुवर्ण चोक, भक्तपुर
वि.सं.२०७५ फागुन १८ शनिवार ११:२९ मा प्रकाशित