
मनभित्र पापले भरिभराउ
नक्कली बाबाहरूले
गेरु वस्त्र पहिरेर
ईश्वरको रूप धारण गरेपछि
मेरो निर्दोष दृष्टिलाई
दिग्भ्रमित पार्दै
मेरो समिपमा
प्रायश्चित गर्नका लागि
लम्पसार परी ढोग्नेहरूसँग
मेरो पुरापुर विमति भए पनि
चुपचाप झुकेर ढोग्न विवश भएँ म
समाजमा विद्रोही कहलिने भयले
अलमलमा कापेर त्रसित भएँ म
किनभने यिशुख्रिष्टलाई झुण्डाउनेहरू
गौतम बुद्धलाई धम्काउनेहरू
भगवान् श्री कृष्णलाई बाण प्रहार गर्नेहरूको
बोलबोला र बिगबिगी छ यहाँ
सरासर झूठको खेती गर्नेहरूको रजाइँ छ
निर्दोष र सज्ज्नहरूलाई दास बनाउन
षडयन्त्रकारीहरू नेपथ्यमा बसेर
षडयन्त्रको मार्गचित्र कोर्दछन्
सत्यका हिमायतीहरूलाई अल्पमतमा पार्नलाई
बलात्कार गर्न, ठग्न, लुट्न र जालमा पार्नलाई
तर म भने मडारिएको कालो बादलमुनि बसेर
आकाश फाट्ने समयको प्रतीक्षामा
वेदनाका तरंगहरूसंग जुद्दै
अभावै अभाव र दवावै दवावको परिवेशमा
अत्याचार, भ्रष्टाचार र दुराचारको विरोध गर्दै
बर्षौंदेखि स्वविवेकमा अटल रही
समाज परिवर्तनको परिकल्पनामा
समाजवादको उदयसंगै
सत्ययुग फर्किने आशामा थिएँ
ती आशाहरू अब सब निराशामा बदलिए
सायद म कल्पनाको मिथ्या सागरमा
सदा सदाको लागि डुब्दै त छैन ?
गन्तव्यबिनाको चालमा भएर !
यसै बिच आकाशबाट आशाको दियो पलायो
आकाश बाणिको रुपमा
कलियुगमा सत्ययुग पर्खिने हे पटमुर्ख
लाज लाग्दैन तलाई
भन्यो मलाई
मेरो आत्मा झनै जलाई ।
‘समाप्त’
गौतम, गैरआवासीय नेपाली संघका भाषा साहित्य उपसमितिका संयोजक हुन् ।
वि.सं.२०७६ वैशाख २८ शनिवार ०९:४१ मा प्रकाशित






























