१४ जेठ, काठमाडौँ । विवेकशील नेपाली(Bibeksheel Nepali) दलले वैदेशिक रोजगारी बिमा सम्बन्धी ठगिका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष उज्जवल थापासहित पुगेको एक टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । गत वैशाख १ देखि लागू हुने गरी सरकारले लागू गरेको बिमा सम्बन्धी नीति सरकारले गरेको सुधारको निर्णय स्वागत योग्य हुँदाहुँदै पनि करारमा आधारित भई वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुलाई भने थप आर्थिक भार परेको सरकारलाई बुझाइएको पत्रमा जनाइएको छ ।
पत्रमा सरकारले अवलम्बन गरेका कतिपय नीतिहरु कतिपय देशमा पुगेका नेपालीहरुका लागि झन्झटीलो पद्धति भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख छ ।
नविकरण गर्न जाने क्रममा पुरानो इन्स्योरेन्समै १ वष समय अवधि हुँदाहुँदै पनि फेरि ३ वर्षको नयाँ इन्स्योरेन्स गर्नु पर्ने प्रावधानले आर्थिक बोझ बढेको र उक्त बचत समय अवधिको बिमा शुल्कको हिसाबकिताब राख्ने नगरिएको भन्दै सरकारलाई सचेत गराइएको छ ।
त्यसैगरी कम्पनी परिवर्तन गरे वा अर्को देश गए फेरि नयाँ इन्स्योरेन्स गर्नु पर्ने बाध्यकारी मापदण्ड पनि त्यस्ता नेपालीहरुको हकमा उचित नदेखिएको बताइएको छ ।
मन्त्री विष्टले यी विषयमा आगामी दिनहरूमा आवश्यक कारवाही गरिने भनी टोलीलाई जानकारी दिएको बताइएको छ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार ०९:५४ मा प्रकाशित




























