( १ )
आमाको गुन देख्छन् सबै, बाबु ओझेल परेको छ,
बाबुले पनि सन्तान भनी, कति दुःख गरेको छ ।
अरुको लाख आमाको, काख भन्छन सबै तर,
बाबुले पनि सन्तान बोक्दा, काँधको छाला मरेको छ ।
( २)
गाह्रो मान्छन् सँगै राख्न, एउटी आमा अँटाएर ,
हेला गरी आमा खेद्छन, घरको सँघार कटाएर ।
देबि देउता राखि घरमा, पूजा गर्छन् मान्छेहरु,
जन्म दिने आफ्नी आमा, बृद्धा आश्रम पठाएर ।
(३)
तिमी अनि जून हाँसेको, रात उस्तै उस्तै लाग्छ,
मेरो प्राण अनि तिम्रो, साथ उस्तै उस्तै लाग्छ ।
हिलो भित्र पनि सँधै, हाँसी हाँसी फूल्न सक्ने,
तिमी अनि त्यो कमलको, जात उस्तै उस्तै लाग्छ ।
(४ )
घरमा बुहारी आएपछि, भान्छा भिन्न भिन्न भयो,
जग्गा जमिन धन सम्पत्ती, सबै छिन्न विन्न भयो ।
छोरा पाउँदा मख्ख पर्थे, सुख होला भन्ने ठान्थे,
अचेल छोरै बोल्न छोड्यो,मनै खिन्न खिन्न भयो ।
( ५ )
सारै मुटु दुख्यो आज, शायद चिरा परेको छ,
जति रोक्न खोज्छु आँसु, उति उति झरेको छ ।
सन्तानले फालेको बाबु, सडकमा अलपत्र देखेपछि,
अब कहिल्यै बाबु बन्दिन्, मेरो रहर मरेको छ ।
सामाखुशी, काठमाण्डौ