११ मङ्सिर,पर्सा। नेकपा(एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि प्रस्तावको औचित्यनै समाप्त भएको विचार व्यक्त गर्नुभयो ।
उहाँले संविधान सभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको, तर मधेसवादी दल र तिनका कार्यकर्तामा समस्या देखिएको बताउनुभयो ।
नेता खनालले अहिले मुलुकलाई संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र (माओवादी केन्द्र) बीच एकता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको आज तेस्रो दिन पूर्व प्रधानमन्त्री झलनाथ खनाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
पतञ्जलि योगपिठ नेपालद्वारा आयोजना गरिएको योग शिविरको उद्घाटन गर्दै नेता खनालले योग साधनाको माध्यमले व्यक्तिलाई निरोगी र राष्ट्र प्रेमको भावना जगाउँदै हिँडेका स्वामी रामदेवलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मानवताको विकासका लागि सकारात्मक सोच आवश्यक रहेको बताउनु भयो ।
शिविरका सहभागिलाई योग प्रशिक्षण दिँदै योग गुरु स्वामी रामदेवले नेपाल प्रकृतिक स्रोतको धनी भए पनि अव्यवस्थाका कारण नेपालीले विकास गर्न नसकेको धारणा राख्नुभयो ।
बिहान ५ बजे सुरु भएको योग शिविरमा आज आठ हजार भन्दा बढी सर्वसाधारणको सहभागिता रहेको आयोजक शिविर मूलआयोजक समितिका सह–संयोजक विजय सरावगीले जानकारी दिनुभयो । रासस
वि.सं.२०७३ मंसिर ११ शनिवार ०७:५३ मा प्रकाशित