यो दुनियाँको लागि
प्रेम चौतारी भए पनि
मेरो लागि
प्रेस चौतारी बनेको छ
यो मनमा लागेका
तीता मीठा दुई चार शब्द
बिसाउनी ठाउँ,
यसमा आठ दस जना
मेरा शुभ चिन्तक हुनुहुन्छ,
उहाँहरूले प्रायः
मलाई साँझ
बिहान सोध्नु हुन्छ,
के खायौ राधिका तिमीले ?
म उहाँहरूलाई
चौरासीबेञ्जन खाएको
धक्कु लगाउँछु,
उहाँहरू मेरा कुरा सुनेर
दङ्ग पर्नु हुन्छ
तर म वास्तविकतामा
के खाँदैछु त,
बिगत पन्ध्र वर्षदेखि
यस सहरमा
बेरोजगार लड्दै छु,
बिहान चार मुठ्ठी पानीमा
एक मुठ्ठी कोदोको पिठो
हालेर पकाउँछु,
सुकेको गुन्द्रूकमा
कहिले झोल राख्छु,
कहिले खुर्सानी मिचेर
अचार बनाउँछु,
आधा बिहान खान्छु,
आधाले
बेलुकीलाई पनि पुर्याउँछु,
चार छ पाथी कोदो
पाँच सात मानु गुन्द्रूकले
एक वर्ष धनाउँछु,
लुगा दुई चार वर्षमा
एक दुई जोर
हाल्न सके हुन्छ,
कुईनु फाट्छ
काटेर फाल्छु,
कुम च्यातिन्छ
त्यही टिपेर टाल्छु,
रात कटाउनका लागि
एउटा सुकुल गुन्द्री छ
उसमाथि दरी ओछ्याउँछु,
एउटा रग, बर्को छ,
यो पनि पन्ध्र वर्ष पुरानो,
जाडो गर्मी दुबैलाई
म बराबर सम्झिदिन्छु
यसैले काम चल्छ
नत्र गाह्रै पर्ने थियो,
यसभन्दा परको बिकल्प
किन छैन त मसँग ?
किनकि मैले भारत पसेर
आइए बिएका
प्रमाणपत्र चोर्न सकिन,
अमेरीका पुगेर
डिग्रि नामको अनार
फोर्न पनि सकिन
बेलायत धसिएर
पिएचडी नामको पोज पनि
देखाउन सकिन,
मेरो योग्यता भने नि प्रमाण
‘क’ देखि ‘ज्ञ’ सम्म
‘अ’ देखि ‘अ ‘सम्म
राम्रै सित चिन्छु,
जताबाट काटे पनि
जताबाट मोरे पनि
मात्रा बाइ मात्रा
तर्कुले बर्दन्य,
सबै शब्दको अर्थ बुज्छु
बुजाउन पनि सक्छु
तर के गरौ ?
यो सहरमा नेपाली अक्षरको
हलो चल्दैन,
त्यसैले मेरो खेत बारीमा
केही फल्दैन,
यो कोदोको पिठो
सुकेको गुन्द्रूक पनि
कुन्दिन बाट बन्द हुन्छ र
यो मेरो क पुरी ‘क’
खरायो ‘ख’ लेख्ने
जिन्दगी नामको कलम
मन्द हुन्छ
यो मलाई नै थाहा छैन,
जदौँ शुभ प्रभात ।
वि.सं.२०७६ कात्तिक २३ शनिवार ०९:५३ मा प्रकाशित






























