१७ मंसिर, अबुधाबी । कट्टरपन्थी समूह तथा द्वन्द्वका कारण सम्पदास्थल नष्ट हुन नदिन तत्कालै अन्तर्राष्ट्रिय कारबाहीका लागि पाँच नोबेल पुरस्कार विजेताले बिहीबार आग्रह गर्नुभएको छ ।
अबु धाबीमा एक अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा यी व्यक्तित्वले उक्त आग्रह गर्नुभएको हो । उहाँहरूले इराक, सिरिया, अफगानिस्तान तथा मालीका प्राचीन स्मारक स्थलमा पूर्ति हुनैनसक्ने क्षति भएको उल्लेख गर्नुभएको छ ।
उहाँहरूले कट्टरपनाको लक्ष्यका लागि भविष्यप्रति जनताको आसा कमजोर बनाउँदै इतिहासका केही भाग सधैँका लागि गुमेको बताउनुभएको छ ।
उहाँहरूले क्रोधका शक्तिविहीन अभिव्यक्तिको समय सकिएकाले यस विषयमा कारबाही हुनैपर्ने माग गर्नुभएको छ ।
उक्त आग्रहमा म्यानमारका नेता आङ सान सु की, लाइबेरियाका राष्ट्रपति हेलेन जोनसन सर्लिफ तथा संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानले हस्ताक्षर गर्नुभएको छ ।
उहाँहरूका साथमा साहित्यका लागि नोबेल पुरस्कार विजेता टर्कीका ओरन पामुख तथा पेरुका म्यारियो भर्गस लोसा पनि रहनुभएको छ ।
उहाँहरूले इस्लामिक स्टेट समूहले दुई वर्षको अवधिमा सिरियाको प्राचीन पालमिरा नगरका मन्दिर तथा कब्रस्थान तथा इराकको मोसुल सङ्ग्रहालयका मूल्यवान सङ्कलन नष्ट गरेको उल्लेख गर्नुभएको छ ।
उहाँहरूले सन् २००१ मा तालिवानले अफगानिस्तानको बामियानमा रहेको बुद्धको प्राचीन मूर्ति नष्ट गरेको तथा सन् २०१२ तथा १३ मा मालीको अन्सर अल–डाइन लडाकूले टिम्बुक्टुमा समाधिस्थल तथा हस्तलिपि नष्ट गरेको उल्लेख गर्नुभएको छ ।
फ्रान्स तथा संयुक्त अरब इमिरेट्सको प्रायोजनमा शुक्रबार आरम्भ हुने दुईदिने सम्मेलनमा जोखिममा परेका स्मारक तथा मानवनिर्मित स्मारकको संरक्षण र पुनःस्थापनाका लागि १० करोड अमेरिकी डलरको एक कोष स्थापना गर्ने लक्ष्य राखिएको छ । एएफपी
वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:२८ मा प्रकाशित