लछेप्रै पोखिए जीवनको कैयौं बसन्तहरु
कर्कलाको पातमा अडिएको थोपा झै
भविष्य बोकी चल्दैछ भएका आयुहरु
पोखिएका हिस्साहरु आँखाभरि देख्छु
जसरी पोखरी भरि देख्छु पानी
अदृश्य छन् त दुधभित्रको घिउ
यति भन्न नमिल्ने भएका आयु ।
आमाको लुंगीमा पोखिदै थियो शैशव
धाराको पानीसँगै बहदै थियो बालापन
हिँउदमा बलेसीको थोपासंगै
चुहिरह्यो निरन्तर शीत आयु
बर्खाको झरिमा पानीसंगै
कति छिटो छिटो बगेको !
भेलको गतिमा बालापन
यौवन नदिमा आतुर छ मिल्न
अझ द्रुतगतिमा दौडन्छ
कल्कलाउँदो कलि झै यौवन
वृद्ध महासागर सुस्ताउन ।
नौनी यौवनको सुरक्षामा
लागेका कतिपय अकाल्पनिक
अव्यक्त चोटहरु असह्य भईदिँदा
हजारौं सपनाहरु मनमै रोप्न विवश बन्दा
कन्दराहरुसित ठोक्किन्दै खित्खिताउदै
स्वच्छ पवन झैँ
उडने खित्काहरु लच्छिनको मुठ्ठीमा
कसिएर केही ईन्चको
मुस्कानमा अँटाउन पर्दा
एकान्तमा नुनिलो बनि
बगेर नै पोखिरह्यो
मनतातो आयुहरु ।
श्रम खेती दिलोज्यानले गरि
आशाको फसल फलाउने होडबाजीमा
मनस्थितिमा चिन्ताको भाईरस पसिदिँदा
कामदेखि ध्यानभंग भई
दुर्घटनाले अंगालो हाल्दा
चोट पटकहरु लाग्दा कहिले
रातो तरल बनेर हेमोग्लोबिनसंगै
धरतीको छाति रसाउदै
पोखिए आंशिक आयुहरु ।
सुर्यको प्रकाश पोखिदा तनमा
टिलपिल–टिलपिल टल्कन्दै
मोती झैं सजिएर धारा बनि
नाकको चुचुरो देखि छल्कदै
शरिरको भित्ताहरुमा उच्छालिदै
सलसल सलसल गर्दै प्राय :
दिनहुुँ बगेर पोखिरहन्छ
धेरै–धेरै आयुहरु
नून जस्तै नुनिला छन् ती आँसुहरु
नुनिलै छन् ती राता रगतहरु
अनि नूनीलै छन् ती पसिनाहरु
अर्थात् ! हाम्रा अथाह पोखिरहने आयुहरु
नून जस्तै बिलेर चिस्सिदै
माटोमा पलपल मिलिरहन्छ
पोखिएका ती आयुहरु ।
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०८:३८ मा प्रकाशित






























