तिमी नै हौ मेरो जीवनको रङ
तिमी छौ र रङ्गिएझैँ लाग्छ जीवन
तिमी छौ र फुलेझैँ लाग्छ सुनाखरी
तिमी छौ र फैलिएझैँ लाग्छ सुवास
तिमी छौ र त चलेझैँ लाग्छ बतास
नभए तिमी ओइलाउनेछ मखमली
र, सुक्नेछ एकाएक सागरको पानी ।
निकालेर तिमीभित्रका गुलाबी रङ
दलेपछि मेरा एकएक अङ्ग
तिम्रै रङमा मेरो जीवन बाँच्ने मन छ
निकालेर आफूबाट बहुरङ्गी सपना
दलेपछि तिम्रा एकएक अङ्ग
मेरै रङमा तिमी हाँसेको हेर्ने मन छ ।
तिमी नै हौ मेरो जीवनको चङ्गा
म फुर्र फुर्र खोल्दै जानेछु मनको धागो
तिमी भुर्र भुर्र उड्नू मनकै आकाशमा
तिमी चङ्गा म धागो
वा म चङ्गा तिमी धागो
सँगसँगै आकाश चुम्ने मन छ
आखिर धागोकै भरमा उड्दो रहेछ चङ्गा
र, चङ्गाले आकाशसम्म तान्दो रहेछ धागो
निकालेर फूलका पत्रपत्रबाट जीवनका रङ्ग
तिमी चङ्गा म धागो दुवै रङ्ग्याउने मन छ ।
तिमी नै हौ मेरो जीवनको इन्द्रेनी
जब वर्षन्छ मेरो मनको आकाश
र चम्किन्छ एकसाथ चम्किलो घाम
तब तिमी इन्द्रेनी बनेर आउछ्यौ आँखामा
झिमिक्क नगरी परेलीसम्म हेरिरहनूजस्तो
अथवा टपक्क टिपेर आँखाबाट
छातीमा चपक्क टाँसिरहनूजस्तो
चिम्म गरेर दुवै आँखाका डिल
भित्र कता हो कता ढुक् ढुक् गरिरहेको
मनको खोकिलामा लुकाएर तिमीलाई
मेरो हृदयको झन्कार सुनाउने मन छ ।
तिमी नै हौ मेरो जीवनको बत्ती
तिमी धप्प बल्दा बिलाउँछन् औँसीहरू
र, उदाउँछन् जूनजस्तै शीतल रातहरू
तिनै रातहरूसित तिमीमा हराउने मन छ
भावनाको स्पर्शले मुछेर मायाका रङ्गहरू
तिम्रो तन र मन निथ्रुक्क हुनेगरी भिजाउने मन छ ।
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:४३ मा प्रकाशित






























