घर खेत गरगहना साहुजलाई बन्धकी राखेर
टाउको छोप्ने टोपी किन्न खाडी गएको साथी
कल्पना भन्दा बहिरको कुरा सुन्दा
श्रद्धाञ्जली कसरी दिँउ
गोत्र पत्र नमिल्ने गाउँमा
अन्तिम श्वास छोडे पछि ।
निलो आकाशलाई कालो बादलले ढाके झै
तिम्रो स्वास्नीको कोमल आँखाको
अविरल आँशुको धाराले
गुहार मगिरहेको छ
दर्जनौ
क्रिमको बट्टाहरु मात्रै उसको निम्ति शोक होइन
आज पनि उ लोग्ने आउँछ भन्दै
घर दैलो आँगन कुरेर बसेकी छे ।
क्षितिज पारी जूनको पर्खाइमा बसेको रात झै
जेलको चिसो भुँइमा आरोप खपि निर्दोषी प्राण
हजारौं सपनाको हत्या गरेर
एकदिन मेरो उनि आउनु हुन्छ भन्दै
पुरानो फोटो फ्रेम
छातीमा राखि
हत्केलाले मसारी बस्छिन् ।
गृहस्थी जीवनमा तीन दशक
भोगिसकेकी बुढिआमा
लौरोको सहारामा उभिएको बाबु
ऋणले चुर्लुम्म डुबेको धुरी खम्बा
यस पल्ट पनि
माथी उठन सकेन ।
झोलाभरि किताब बोकेर
अनुहारमा प्रकाशको कसिलो भविष्य लिएर
मकै चपाउदै विद्यालय जाने बालकलाई
बाबु खोइ भन्दा
पैसा कमाउनु विदेश जानु भएको छ भन्छ ।
गुराँस फुल्दै न फुल्ने मरुभुमिमा
तेरो प्राण गए पछि
गाउँको अनुहारमा कालो बादल लागेको छ
एकदेशमा दर्जनौ नेपाली
साँझ बिहान मरेपछि
हामी माथी प्रश्न बर्सिएको छ ।
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:५७ मा प्रकाशित






























