लाग्थ्यो तिमी र मलाई छेक्ने
मात्र त्यो निर्धारित सिमाना
तर धमनीमा बग्ने रगत एउटै,
सीमा पारि धड़कने दुई मुटुहरु
तर त्यसमा बहने भावना एउटै,
दुईवटा मस्तिष्कका रुप अलग्गै
त्यसभित्रका बिचार र सोंच एउटै,
सीमा वारिपारिबाट हातेमालो गरि
उक्लियौं ती भन्जाङ्गहरुमा
अनि सुस्तायौं संगै चौतरीमा ।
तिमीले मेरो सुन्यौ,मैले तिम्रो सुने
कसैलाई पोख्न नसकेका हाम्रा
उद्गार पोख्यौं यही चौतरीमा ।
“चेतावनी“
“लाच्छना“
“आवेग“
“कुण्ठा “
“अवरोध “
फेरि अचानक किन तिमीबाट ?
हामीबाट “म“ मा टुक्रिएका
तिम्रा…
धमनीका चिसो रगतले
ढुकढुकी बिनाको मुटुले
भावहिन मनका भावनाले
अचल मस्तिष्कका सोंचले
बुझ्न सके
निर्धारित सीमाभित्र
सीमा रेखा हुँदो नै रहेछ !
अकारणको शंकाहरुले
यस्ता सीमा–रेखाहरुलाई,
थप काँडादार पर्खालहरुबाट
अझ कठोर बनाउँदा रहेछ ।
वि.सं.२०७६ कात्तिक ३० शनिवार १०:०९ मा प्रकाशित






























