काठमान्डौलाई कहिल्यै चासो रहेन
कसरी जीवित थियो मेरो घिड्घिडो
बाँच्नकै निम्ति
मैले खाएका गोताहरूबाट
कोसौ दूर रहेको ऊ
यता नुनको अभाव खड्किरहँदा
उता सुनको भाउ घटबढमा घोत्लिन्थ्यो
मलाई पुसको ठिहीले
कप्लक्क निल्ला झै
मुख बहाएको बेला
ऊ फेसन सोको र्याम्पमै
कम्मर मर्काउथ्यो
पल्लाघरे,माथ्लाघरे छिमेकी
माखो चिप्लेने सडकमा
चिप्लेटी खेल्दै
जीवनका आधारभूत आवश्यकता
गम्लङ्ग अङ्गालेर मुस्कुराइरहेको दृश्य
घुटुघुटु थुक निल्दै
टुलुटुलु हेरिरहनु
मेरो नियति हुन्थ्यो
मेरै सहोदर
जङ्गेपिलर पनि
घरि ढालिने
घरी सारिने
घरि गायबै पारिने
व्यथा सुनाइरह्यो बेलाबेला
परिवर्तनको फिलाङ्गो
आइपुग्ला हामीसमक्ष पनि
सीमाको सुरक्षित घेरामा
नाचौला हामी पनि
हतास नबन
सम्झाएथेँ धेरै पटक
तर यसपाली त
मुटुमा बज्रेका पराइ बुट
शिरमा उडेका जेटका आवाजले भयभित म
आवाजबिहीन छु
इसारामै भनिरहेछु
भर टुट्यो कुरा बढा गर्नेहरूसँग
देशको सीमाना खोज्नेहरू आऊ
म आफ्नै करेसामा कसरी शरणार्थी बनिरहेछु
हेरेर जाऊ
म लिपुलेक ।।
२०७६\७\३०
वि.सं.२०७६ कात्तिक ३० शनिवार ११:१६ मा प्रकाशित






























