जब नसामा स्वतन्त्रताको तरङ्ग रगतसंगै बग्न थाल्छ त्यसपछि राजा र रंककों भेद विलुप्त हुँदै जान्छ र त्यो सन्यासी झैँ समानता खोज्दै प्रकृतिको काखमा आइपुग्छ । दरबारबाट प्रकृति तर्फ हुत्तिंदा पूर्व युबराज पारस शाहलाई कसैले ‘मति बिग्रेको’ भने, कसैले ‘त्यति ठुलो मान सम्मानको खिल्ली उडाउदै साधारण तहमा आइपुगे’ भने । कतिले त ‘धतुल्लाए’ समेत भन्न पछि परेनन् । उनलाई दरबार हत्याकाण्डमा मुछ्न पनि खोजियो । उनलाई बिबादको भुमरीमा पारेर चुट्नु चुटियो । उनको रगतमा बगेको स्वतन्त्रताको मूल्य जहाँनिया राजतन्त्रको खोक्रो औपचारिकताबाट प्राप्त नहुँदा देखिएको विक्षिप्तता कसले देख्नु । त्यो बिद्रोह भित्रको मूल्य यो युगले पहिचान गर्ने गतिमा थिएन र अझै केहिकाल गर्दैन पनि । अझै लामो समयसम्म उनलाई बेलुन झैँ उडाइएला, उचालिएला, पछरिएला । तर उनको त्यो बिद्रोहभित्रको मूल्य यी मुल्याहाहरुको बैगुनी युग सकिएपछि खोज्न थालिने छ । प्रेमको लागि मृत्युदण्ड पाएका सन्त क्लेडियस को बिद्रोही स्वर फ्लेमेनियाको चिहानबाट ब्युझन झन्डै १८०० वर्ष लाग्यो भने पारसको विद्रोह वा विक्षिप्तताबारे आगामी युगले केहि न केहि मूल्य भेट्टाउने छ । स्वतन्त्रता प्रेमीहरुले दरबारिया जीबन ‘कैदीहरुको पनि नरक हो’ भन्ने कुरा स्वीकार्दै त्यस्तो जिबनको परित्याग गर्नु पनि साहसिलो बिद्रोह हो । यो भन्दा धेरै त अझै पनि हाँस्ने छन् ।
जोर्डनी राजाकी सौतेली बहिनी तथा दुवइका सम्राटकी पत्नी हया जसको बिद्रोहले संसारका मानिस तरंगित बने । हयाले मृत्यु वा बिद्रोह भनेर दरबारिया पर्खाल नाघ्ने साहस गरिन् । त्यो सकसपूर्ण बिद्रोहको मूल्य उनी आँफैलाई बाहेक कसलाई थाहा होला । उनका दुई छोरीको स्वतन्त्रता रक्षाका लागि उनले दरवारको सम्पूर्ण औपचारिक सम्मान त्यागिन् । अरब ‘राजदरबारको औपचारिक जेल संसार’ बाट मानबिय स्वतन्त्रताको लागि बिद्रोह गरेकी शेख मोहम्मदकी छोरी सेखा लातिफाले जुन राजकीय औपचारिकतालाई ‘नरक’ भनेर सम्बोधन गरिन् त्यहि नरकबाट बिद्रोह गर्दा पूर्वयुवराज पारसलाई बात लाग्यो । तसलिमाले मुस्लिम महिला पिसिएको धार्मिक जाँतोको हाँतो भाच्दा उनीमाथि फताहा जारि गरियो । सभ्य समाजका राजकुमारी डायनाहरु पर्खालभित्रको औपचारिकता तोड्दै गर्दा सुरुङ्ग भित्र प्राण त्यागे । पारसहरुले चाहेको स्वतन्त्रताको मूल्यबारे कतै चर्चा भएन तर निरासाका क्षणहरुमा नसाका साथ जीवन सक्याएको भनेर सकुनीहरुले खैजारी पिटे । मान्छेको जीवनमा स्वतन्त्रता र समभाब भन्दा कुनै बहुमूल्य सम्पदा केहि छ ? यदी छैन भने नारकीय औपचारिकताबाट सकि नसकी एक्लै गरेको बिद्रोह वा अलगाबलाई थोरै सम्मान गर्दा के फरक पर्छ ?
प्राकृतिक स्वतन्त्रलाई अति कैद गर्दै लगियो भने त्यसको परिणाम सकारात्मक हुँदैन । पूर्वयुवराज पारसको उन्मुक्त घुमफिर शैली, मानविय समबेदनाको धार, साधारणपन र आचरण नितान्त प्राकृतिक हुँदो हो यदी त्यसलाई पुर्व राजाको परिवारले अप्राकृतिक दवाबबाट राजा वा दरबारिया बन्ने दवाब नदिएको भए । मान्छे राजाको कोखमा जन्मे पनि जनसाधारण हुन पाउनु पर्छ । दरबारबाट एक्लै घुमफिर गर्न पाउनु पर्छ । जनसाधारणसँग उठबस गर्न पाउनु पर्छ अनि चाहना छ भने युवराज जोगी बन्न समेत पाउनु पर्छ । त्यो उसको मानविय स्वतन्त्रताको कुरा हो । तर दरबारियाहरुको जीवन जनसाधारण भन्दा भिन्न,भद्दा, नितान्त कृतिम बनाइएको हुन्छ । उनीहरुको स्वतन्त्रता पिंजडाभित्र मात्र हुन्छ । त्यसैले दरबारियाहरु प्राय मनोरोगी हुन्छन् । त्यो कुरा बाहिर भनिदैन तर सत्य कुरा के हो भने मानिसको खुल्ला भएर बाँच्न पाउने प्राकृतिक स्वतन्त्रता कुल्चिए पछि मानसिक कोषहरू सिथिल हुँदै जान्छन र बाहिरि संसार अपरिचित बन्दै जान्छ । मानब वा त्यो परिवेशको मान्छे घरपालुवा बन्दै जान्छ । अन्तत ऊ मनोरोगी हुन्छ र एउटा कडक अम्मलको सहाराले जीवन गुजार्न बाध्य हुन्छ वा पारिन्छ । स्वतन्त्रतामाथिको आक्रमण भए पछि मान्छेको आत्माबल खिइदै जान्छ र नशाको सहाराले दवाबपूर्ण जिबन जिउन थाल्छ । ब्याक्तिगत स्वतन्त्रताको अभाबमा मान्छे बरालिन्छ र आंफैभित्र हराउन थाल्छ । त्यो क्रमश मनोरोगको सिकार हुन्छ । सँधै जनसाधारणको संसयमा बाच्न चाहन्छ मान्छे, प्रकृति प्रेमी र मानबिय मूल्यको महत्व थोरै भएपनि चिनेको हुन्छ मानविय चेतनाले ।
पारस जसले आफ्नो स्वतन्त्रतालाई दरबारिया सान सौकतसंग साट्न कदापी तयार भएनन् । दरबार भित्र उनलाई ठिक पार्न अनेक प्रयत्न भयो होला तर उनको मनले मानेन । उनको मन अनाबस्यक दवाबले थिलोथिलो भयो होला तर बुद्धले जसरी दरवार त्याग्ने परिवेश पनि बनेन । विक्षिप्त अबस्थामा सडकमा निस्के, जता मन लाग्यो उतै हिँडे । उनि भड्क । भित्र भन्दा मनले बाहिर आनन्द मान्यो । त्यसैमा आल्हादित बने । रण बहादुर र पृथ्बी बिरबिक्रम झैँ उदण्ड हुने परिवेश बनेन् । उनको विद्रोहको भड्काव पूर्ण नहुँदै राजतन्त्र गयो ।
चेतनासँगै जागृत भएको बिद्रोहले समाजमा जागरण पैदा गर्छ तर चेतना मरिसकेपछि वा चेतनाले बाटो नभेट्दै गरेको बिद्रोहले आशाको बिमोचन मात्र गर्छ । उनको बिद्रोह दोश्रो खालको देखिन्छ । पूर्व युवराज पारसको अहिलेको अबस्था दरबारिया रबैया प्रतिको मानसिक बिद्रोह हो,जसले उनलाई मात्र गिज्यायो । दरबारिया बाहेक कसैलाई असर गरेन । स्वतन्त्रताको मूल्य बुझ्नेले उनको सम्मान नै गरे, उनलाई राजाको रुपमा देख्न चाहनेहरुले उनैलाई गालि पनि गर्न थाले। जसलाई उनले मतलब नै गरेनन ।
उनले यदी दरबारिया सामान्तभित्रका सम्पूर्ण औपचारिकता बिरुद्द आवाज सहित बिद्रोह गरेको भए पारससँग नेपालीको अझै आशा जोडिएको हुन्थ्यो । उनी अधिक सम्मानका पर्याय बन्थे । तर, उनको बिद्रोह चेतनाको उत्कर्षलाई छाम्न सक्ने स्वतन्त्रताबादी बाहेक कसैले बुझ्न, सुन्न वा खोज्न सकेन । कसैले कारण खोज्ने जाँगर नै चलाएन । उनको बिद्रोहलाई नेपालीहरुले अरबियन राजकुमारी हाया, महारानी सेखा लातिफाको बिद्रोह जत्तिको महत्व पनि दिएनन् । ’दरबारको भव्यताबाट भागेको, औपचारिकताबाट तर्सेको र उच्च आदर्श सम्झने दरबारिया शिक्षाबाट अलग्गिएर भुस्याहा जीवन जिउन रुचाएको’ भन्ने उनकै वरिपरिकाहरुले आरोप लगाए । हल्का तर्कले उनको गहन मानसिक प्रताडनाको खिल्ली उडाइयो । त्यसैले अझैसम्म उनि रुघ्ण कृतिमता चाहने आफ्नो परिवारको नजिक पर्न चाहन्नन् । उनलाई जनताले बाटेको लठे पिङ्ग, साधारण मान्छेहरुसँगको हिमचिम, दरवारिया साङ्लो भन्दा महत्वपूर्ण छ । उनी प्रकृति प्रेमी झैँ प्रकृतिको काखमा भौतारीइ रहन्छन । राजसंस्थाप्रतिको उनको लगाब हिजो सक्तिमा हुँदा पनि थिएन, अहिले पनि छैन ।
पारस जसले आफ्नो स्वतन्त्रतालाई दरबारिया सान सौकतसंग साट्न कदापी तयार भएनन् । दरबार भित्र उनलाई ठिक पार्न अनेक प्रयत्न भयो होला तर उनको मनले मानेन । उनको मन अनाबस्यक दवाबले थिलोथिलो भयो होला तर बुद्धले जसरी दरवार त्याग्ने परिवेश पनि बनेन । विक्षिप्त अबस्थामा सडकमा निस्के, जता मन लाग्यो उतै हिँडे । उनि भड्क । भित्र भन्दा मनले बाहिर आनन्द मान्यो । त्यसैमा आल्हादित बने । रण बहादुर र पृथ्बी बिरबिक्रम झैँ उदण्ड हुने परिवेश बनेन् । उनको विद्रोहको भड्काव पूर्ण नहुँदै राजतन्त्र गयो ।
उनको जीवनले मृत्युबाट पटक पटक खै किन उनलाई बचाई रहेको छ । बाँचेको जीवनको एक पल पनि औपचारिकतामा बिताउन उनले अस्विकार गर्दै आएका छन् । सत्य योगी वा मानवताका उच्च अनुरागी भेटेको भए उनि बुद्ध झैं बैरागीदै सत्यको खोजीमा हिड्थे होला । तर यो ढोगीहरुको हावा चलेको समयमा बुद्ध जस्ता सन्यासी कहाँ भेटिनु । त्यै पनि प्रकृतिको हावा बहने भिर, पाखा, खोला र नालाहरुमा पारस जोगी जस्तै टुप्लुक्क भेटिन्छन् । उनको बिद्रोहमा कहिँ कतै समाजलाई नकारात्मक प्रभाब पारिहाल्ने बिरूप चित्र भेटिंदैन । त्यसैले ब्याक्तिगत स्वतन्त्रताको लागि उनको जीवन जिउने शैली र सामाजिक मूल्य सहितको आगामी गन्तब्यलाई असम्मान गर्नु पर्ने कुनै कारण देखिन्न । चेतनाबाट निर्दे्िशत बिद्रोह नभए पनि ब्यक्तिगत स्वतन्त्रताको लागि उनको विद्रोहको कहिँ न कहिँ अर्थ छ ।
औपचारिक यातना खप्न सकिदैन भने चिच्याउन मजाले पाइन्छ । यातनाको समयमा जेलबाट भाग्नु निजि बिचारमा बिद्रोह हो । त्यो कैंदीलाई भगौडा भन्दा अन्याय हुन्छ । कुलीन दरबारियाहरुको सात पत्रे पर्खाल ज्यादै असजिलो छ नाघ्न । बिद्रोह कालमा उनको समतापूर्ण उन्नयन, जन सम्पर्कको पर्दा बिहिन बाटो र एक मानवले अर्को मानवलाई सासित र सासक बनाउने विभेद बिरुद्दको स्वतस्फुर्त अलगावलाई देख्नेहरुले सम्मान गर्न सक्नु पर्छ । उनको बिद्रोहमा पनि त्यस्तै केहि समानताका सारहरु छन् । हजारौं दाशीको रासलिला, दमित बिद्रोहीको रगत र नागरिक पसिनाको पिरामिडमा आश्रित दरवार प्रतिको अनन्त घृणा, निरन्तर शासक बन्ने प्राकृतिक न्याय बिरुद्धको चेतना र समभावको प्रारम्भिक बिन्दुमा यस्ता बिद्रोहहरुको सम्झना हुने गरेको छ । संसारले यो बुझ्ने दिन पनि आउने छ कि संसारको अन्तिम सार वा सत्य औपचारिकता मात्र हुँदै हैन, प्राकृतिक जीवनको अन्तिम सत्य कृतिम घेराबन्दि भित्रको विभेदकारी दरबारिया शिक्षा त झन् हुँदै हैन । अनौपचारिक मानविय स्वतन्त्रता र आत्मिक समत्वपुर्ण स्वाभिमानको लागी गरिने शेखा लातिफा, हाया, डायना र पारसका बिद्रोह प्राकृतिक न्यायका दृष्टिले नितान्त जायज छन् । एक्काइसौ सताब्दिले गिज्याइरहेको उचनिच वा राजारैती बिचको घेरा नमेटिँदासम्म यस्ता बिद्रोहहरुको दार्श्िनक महत्व रहिरहने छ ।
(मनोविज्ञान)
वि.सं.२०७६ मंसिर १२ बिहीवार १२:२८ मा प्रकाशित






























