म हुनेलाई नहुने बनाई दिन्छु
नहुनेलाई हुने लेखिदिन्छु
म अक्षरसँग खेल्ने खेलाडी हुँ
अझ भनौ म अक्षरहरूको वकिल हुँ
म कवितामा,
आफ्नै पारा लेखिदिन्छु
अक्षरबाटै जित्ने मुद्दा हराई दिन्छु
हार्ने मुद्दा जिताइ दिन्छु
जसले बढी शुल्क तिर्छ
जसले महँगो भट्टी लान्छ
मेरै लागि पैसा सक्छ
म उसैलाई न्याय दिलाइ दिन्छु
किनकि म,
अक्षरहरूको खेलाडी हुँ
अक्षरहरूको वकिल हुँ
तपाईंसँग त्यो ताकत छ भने
म उस्तै परे
न्यायमूर्ति श्रीमान नै किनि दिन्छु ।
म अक्षरको खेति गर्ने मान्छे
मलाई के खसखस ?
छिमेकिले मिचेको सीमाना पनि,
मिच्या छैन भनेर
कवितामै बहस गरि दिन्छु ।
म एक कवि
अक्षरहरूको वकिल हुँ
झोला र झोलको प्रभावमा
पक्ष र बिपक्ष मिलाएरै लेखि दिन्छु ।
कवितामा
सगरमाथाको लाज लेखि दिन्छु
काठमाण्डौंको फोहोरको ताज लेखि दिन्छु
कवि पनि मन्त्री भएँ भने,
नाम्चेको विदेशी अस्पताल
उद्घाटन गर्दै-
(काठमाण्डौंका तारे होटलबाट)²
सगरमाथाको शान र इज्जत बढेको छ भन्दिन्छु
काठमाण्डौंमा मेलम्ची हल्ला होइन,
यसपाली त पक्का छ भन्दिन्छु ।
मेरो के जान्छ ?
म जाबो एउटा कवि
अक्षरको खेति गर्ने मान्छे
शब्दहरूको वकिल न परें
मैले शान मान पद र प्रतिष्ठा
पाउने ग्यारेन्टी भयो भने
टनकपुर नेपालको होइन पनि भनि दिन्छु ।
म
कर्णाली, महाकाली
दोधारा,चाँदनीका समस्या लेखिरहन्छु
सीमाना कुटिएका, लुटिएका
र निरिह नेपाली पनि हेरिरहन्छु
म कोशी डुबानका समस्या पनि पढिरहन्छु
तर
म कवि यो देशको प्रधानमन्त्री भएँ भने
बेलुका सुत्दा अस्तब्यस्त शहरमा
भोलि बिहान
रेल, मनोरेल र पानीजहाज चलाइ दिन्छु ।
म बबुरो !
अक्षरको खेति गर्ने, अक्षरी किसान
शब्दको वकिल
मेरा स्वार्थपूर्तिका मुद्दामा
म आफैं बहस गर्छु र ?
देश रहोस् या नरहोस्,
माटोले जे सुकै भनोस् या नभनोस्
धेरै निर्मलाहरूले न्याय पाऊन् या नपाउन्
म कवि आफैंलाई बेनाम देशको
नागरिक बनाएरै भए पनि,
देशलाई लीलामीमा राखेको
मुद्दा
टेण्डर अर्काको नाममा,
आफैंले हालेर भए पनि
म
जिताइ दिन्छु ,जिताइ दिन्छु ।।
वि.सं.२०७६ पुस १९ शनिवार ०९:५९ मा प्रकाशित






























