२४ पुष, काठमाण्डौं । भारतकी महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीले अभिनेत्री दिपीका पादुकोण जवाहरलालनेहरु युनिभर्सिटीमा आन्दोलनरत विद्यार्थीबीच जानुको कारण खुलाएकी छन् ।
मन्त्री ईरानीले चेन्नईमा आयोजित एक कार्यक्रममा दीपीका त्यहाँ जानुको कारण राजनीतिक रहेको र दीपिकाले २०११ मै कांग्रेस पार्टीलाई समर्थन गरेको पनि बताएकी छन् ।
कलाकार समेत रहेकी मन्त्री इरानीले अभिनेत्री दिपीकाको पुरानो एक अन्तरवार्ताका बारेमा कुरा गर्दै उक्त अन्तरवार्ताका क्रममा दिपीकाले राहुल गान्धीलाई प्रधानमन्त्रीमा समर्थन गरेको समेत बताएकी छन् ।
‘मलाई लाग्छ जसले समाचार पढ्छ उसलाई थाहा छ कि, दिपीका कस्लाई समर्थन गर्छिन भनेर,’ मन्त्री इरानीले भनेकी छन् ‘जसको पक्षमा रहेपनि यो दिपीकाको आफ्नो अधिकार हो ।’
गत आइतबार अज्ञात समुहले जेएनयु विद्यालयभित्र पसेर विद्यार्थीमाथि आक्रमण गरेका थिए । त्यसैको विरोधमा जेएनयुमा प्रदर्शन गरिरहेका विद्यार्थीहरुलाई दिपीकाले मंगलबार बेलुका भेटेर कुराकानी गरेकी थिइन् । त्यसयता दिपीकाका बारेमा विभिन्न कोणमा समाचारहरु आइरहेका छन् । कसैले राजनीति भनेका छन् भने कसैले भर्खरै बजारमा आएको फिल्म ‘छपाक’को प्रचारका लागि दिपीकाले यस्तो उपाय अपनाएको भन्नेहरुको पनि कमी छैन ।
वि.सं.२०७६ पुस २५ शुक्रवार १५:३३ मा प्रकाशित






























