२३ मंसिर, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्धारित कार्यक्रमलाई लक्ष्य गरी विरोधमा उत्रेका नेकपा (एमाले) र जनमोर्चाका विद्यार्थीलाई प्रहरीले पक्राउ गरी बुधबार साँझ रिहा गरिदिएको छ ।
विरोध प्रदर्शनका क्रममा प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई साँझ रिहा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रदर्शनकारीहरूमाथि प्रहरीबाट कुटपिट हुँदा आठजना घाइते भएको दाबी एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले गर्नुभएको छ ।
यसैबीच, एमाले पार्टी कार्यालयले आजै एक विज्ञप्ति जारी गरी संविधान संशोधन प्रस्तावविरुद्ध कैलालीको सदरमुकाम धनगढीमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारकातर्फबाट बल प्रयोग भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा एमालेलगायतका राजनीतिक दलले आयोजना गरेको विरोध कार्यक्रममा सरकारका तर्फबाट बल प्रयोग गर्दा घाइते भएकाहरूको अविलम्ब उपचार गर्न र गिरफ्तारीमा परेकाहरूलाई अविलम्ब रिहा गर्न माग पनि गरिएको छ ।
वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:०२ मा प्रकाशित