प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशको मूल अनुक्रममा रहेको सम्बन्ध शब्दको अर्थ जनाउने शब्दका रूपमा ’साइनो’ शब्दको प्रयोग गरिएको छ । मूल रूपमा परिवार र नाता कुटुम्बसँगको सम्बन्धलाई जनाउने यो सम्बन्धार्थी शब्द हो । देशभित्र र देश बाहिर नेपाली समुदाय र समाजमा ’साइनो’ शब्द सबैतिर प्रचलित छ । यसै शब्दसँग जोडिएर नेपाली साहित्यमा हालसालै एउटा प्रयोग (सिर्जना) गरिएको छ–’साइनो’ यसका प्रणेता साहित्यकार छायादत्त न्यौपाने ’बगर’ हुनुहुन्छ । साइनो कविताको उपविधा हो । प्रयोगका लागि गरिएको प्रयोग नभएर साइनो स्वतस्फूर्त सिर्जना हो भन्ने कुरा साइनोका प्रणेताले पटकपटक स्पष्ट पारिसक्नुभएको छ ।
साइनोको आफ्नै मौलिक संरचनागत र भाव संयोजनगत सैद्धान्तिक मान्यता छ । यसमा जम्मा तिन हरफ हुन्छन् । पहिलोमा सात अक्षरको समूह, दोस्रोमा आठ अक्षरको समूह र तेस्रोमा नौ अक्षरको समूह हुन्छ । शब्द र अर्थको सम्बन्धका आधारमा यिनलाई तिन गुच्छा पनि भनिन्छ । यसमा जम्मा चौबिस अक्षर हुन्छन् । साइनोको प्रत्येक हरफको छुट्टै अर्थ हुन्छ र समग्रमा एउटै सिङ्गो गहन भाव हुन्छ । प्रत्येक गुच्छाको स्वतन्त्र अर्थ र समुच्चमा (तिनवटै हरफको) एउटै सिङ्गो गहन भावको संयोजन साइनोको सैद्धान्तिक मान्यता, मौलिक पहिचान र विशेषता हो । कविताको आफ्नै लय हुन्छ । साइनोको प्रत्येक हरफको अन्त्यमा (पहिलो पङ्क्तिको सातौँ, दोस्रोमा आठौँ र तेश्रोमा नवौँ अक्षरमा) विश्राम हुन्छ । शब्द र अर्थको सम्बन्ध र भावबोधका आधारमा हरफहरूका बिचबिचमा पनि आवश्यकता अनुसार विश्राम गर्न सकिन्छ । बिचबिचमा बिश्रामबारे छलफल र बहस जारी छ ।
सामान्य रूपमा संरचना मात्र मिलाएर विषयको व्याख्या-वर्णन गर्दैमा मात्र पाठकको मन–मस्तिष्क झङ्कृत नहुन सक्छ, साइनोको गाम्भीर्यता नझल्किन सक्छ । सुन्दर र गहन भाव, प्रतीक बिम्बको बेजोड प्रयोग र प्रबल व्यङ्ग्य चेतनाले साइनो आस्वाद्य बन्न सक्छ । भाव र शैलीको शिल्पदक्षताले नै रचना उत्कृष्ट र दीर्घजीवी बन्न सक्छ ।
साइनो संरचना र भाव संयोजनका दृष्टिले नेपाली मन मस्तिष्कमा जन्मेको नितान्त मौलिक सिर्जना हो । साइनोमा नेपाली भाषिक सिर्जनाको मौलिक पहिचान अन्तनिर्हित छ । साइनो मौलिक स्वादको कविता (उपविधा) हो ।
प्रथमत :रचना सिर्जना भयो । साइनो नाम राखियो ।
प्रत्येक हरफका शब्दको गुच्छा, स्वतन्त्र अर्थ र समुच्चमा एउटै सिङ्गो भाव संयोजनको पारस्परिक सम्बन्धका आधारमा ’साइनो’ नाम सार्थक देखिन्छ । साइनोका सैद्धान्तिक बहस र छलफल र जारी छन् । यसबारेमा विद्वत् वर्ग, साहित्यकार र शुभ चिन्तकका अमूल्य विचार र सुझाबहरू प्राप्त भइरहेका छन् ।
छोटो समयमा नै धेरै सर्जकहरू साइनो लेखनमा साधनारत देखिन्छन् । विभिन्न पत्र पत्रिका, सन्जाल, साहित्यिक पत्रिकामा साइनो तथा यस सम्बन्धी लेख अन्य सञ्चारका माध्यममा पनि साइनो वाचन, अन्तर्वार्ता र चर्चा–परिचर्चा भइरहेका छन् । साइनोको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ ।
वि.सं.२०७६ माघ ४ शनिवार १३:२४ मा प्रकाशित






























