आमा !
मलाई गर्भ मै पतन गरिदिनूँ
म यो धरतीमा आउन चाहन्न
म यहाँ रमाउन नै सक्तिन
किनभने,
म जन्मेर फेरी लाखौं गोर्खाहरू झैं
अलमल्ल बन्नु पर्छ
वर्मा, आसाम र भूटानबाट
म फेरी लखेटिनुपर्छ
न मेरो कुनै चिन्हारी छ
न मेरो कुनै राष्ट्रियता छ
न मेरो कुनै अस्तित्व छ
यो विश्व बजारमा खिन्न अनुहार बोकेर
म कति दिन हिडूँ ?
घर-घडेरी बसाउनको निम्ति
कहाँ-कहाँ लडूँ ?
आमा !
मलाई गर्भ मै पतन गरिदिनूँ
जहिले नी जाति विवादको सिमाना कोरिएको हुन्छ
मेरो बाटोमा…
मेरो माटोमा…
सपनाको हवाई जहाज उड्ने ठाऊँ छैन
यो आकासमा
अनि
आकासको रिक्ततामा
म त्यही चियाबारी जोत्ने गोरू बन्नुपर्छ
म त्यही सिन्कोना बगानमा गुलामी गर्नुपर्छ
देश-विदेशमा पाखुरी गर्नुपर्ने बाध्यता छ
दैनिक रोजगारको लागी ठोक्कर खानुपर्ने बाध्यता छ
हामीमा एकत्रितका भावहरू छैनन्
हामीमा कटिवद्धताहरू छैनन्
आमा !
मलाई गर्भ मै पतन गरिदिनूँ
किनभने,
मेरो चिन्हारीको मूल बाटोमा उभिएको छ
’थुप्रै प्रश्नहरू’
टुल–टुल आँखाहरू तरेर हेरिरहेको छ
समस्या र बाधाहरू
पूर्णविराम लगाउँछु भनेर ताम्सिएका
आप्पा,
दाई र
जोजो
आफै पूर्ण्विराम लाग्छन्
गर्भपतन पाप हो भन्छन भन्नेहरू
तरपनि आमा !
मलाई गर्भ मै पतन गरिदिनूँ ।।
वि.सं.२०७६ फागुन ३ शनिवार ०९:५६ मा प्रकाशित






























