नेपाल राज्य नेताहरूका निम्ति बोझ बनिसकेको प्रतीत हुन्छ । प्रशासनिक खर्च गर्न पनि आम्दानीले पुग्दैन । विदेशी सहयोग र लगानी नहुने हो भने बिकास ठप्प हुन्छन् । तर पनि नेताहरूले मुलुकको सीमित राजश्व पनि उल्फाको धन फुपूको श्राद्धमा खर्च गर्नमा झन् झन् हौसिदै छन् । एयरपोर्टमा १ बोतल रक्सी समातिन्छ, २ तेला सुन जफत गरिन्छ, ल्यापटप नोटप्याड मोबाईल जफत हुन्छन्, ७६१ वटा मुलुकभरि छरिएका विभिन्न सरकारहरूले जनताको गर्नैपर्ने कामको सिफारिस मात्र गरेर पनि अर्बौ रकम जनतासंग हडप्छन् ।
हँदाहुँदा सोसल मिडियामा पनि सरकारहरूले गिद्देनजर लगाएका छन्, यसमा पनि कतै केही लुटखरोट गर्न सकिन्छ कि भन्दै गम्दैछन् ।
गाउँगाउँका सिंहदरबारहरूले गाउँलेका बारी करेसा गोठका अण्डा, बाख्रा, भैसीमा पनि कर थोपरेकै छन् । अब मलामी, व्रतबन्ध वा जन्तिसंग पनि शुल्क लिने दिन नआउला भन्न सकिन्न ।
कर छल्ने, हुण्डिबाट खर्बौं रकम गायब हुने, सरकारलाई बुझाउने भ्याट ब्यापारीले लिएर सरकारलाई नबुझाएर दम्पच पार्ने र सरकारले कमिशन खाएर त्यो देशको राजश्वमा जानुपर्ने भ्याट रकम मिनाहा दिने, काम नगरी भागेका ठेकेदारका अर्बौका ठेक्का धरौटी जफत नगर्ने, असुलउपर नगर्ने, बेरूजु रकम नउठाउने, अदालतले गरेको विभिन्न दण्ड जरिवानाको फैसला बमोजिमको अर्बौं रकम नउठाउने तर भएको सरकारी ढुकुटीको पैसालाई कनिकासरह छर्ने, जनप्रिय काममा भन्दा पदाधिकारीहरूको सुविधा, तलब, गाडी, हेलिकप्टर, भवन निर्माण, निवास भाडा,तेल, भत्ता बढाउदै फुंगारे खर्चगर्ने । अनि यस्तो राजकाज चलाउन करमाथि कर थोपर्न परेपछि मुलुक आर्थिक मात्र हैन, दिमागी टाँट पनि पल्टेको छ । यसको बिरोध होला भनेर ठूला मिडियालाई त केही प्रलोभन दिएर रोक्न सकिन्छ तर करोडौंका ब्यक्तिगत सोसल मिडियाको मुख बन्द गर्ने चतुर्याई हुनु कसले नबुझेको छ र ! पशुपतिको गीत लुट्… काण्डमा देखिएको भुकाई दसीप्रमाण बनिसक्यो । तर जे गरे पनि लोकतन्त्रको बहाव कसैले रोक्न संभव छैन र हुन्न ।
नेताहरूले बुझून्, यी यस्ता नेताहरू हैन हामीलाई लोकतन्त्र प्यारो छ ।
नेपालका सारा विकृति, अस्थिरता, अशान्ति, अबिकास र अराकताको गुह्य गुदी कारण सबै क्षेत्र, राजनीति, प्रशासन, न्याय , पुलिस , सुरक्षा जस्ता निकाय र पदाधिकारीमा ब्याप्त घोर भ्रष्टाचार हो । गुदी समस्यामा बम पड्काएर समाधान नगरी यस्ता पिलो कहिल्यै फुट्ने छैन ।
बुझ्नुपर्छ, अहिलेको जमानामा कुन देश कति तिब्र विकास गरिरहेको हेर्ने सूचक त्यहाँको डिजिटल ईकोनमीले त्यो मुलुकमा कसरी प्रगति गर्दैछ त्यो हो । नेपाल विश्वमा बार्षिक सबैभन्दा कम प्रतिव्यक्ति विद्युत २०० किलोवाट घन्टा खपतगर्ने देश हो । विकसित देशको प्रतिब्यक्ति खपत वार्षिक १० हजार किलोवाट घन्टा, ५० गुणा बढी हुन्छ । उर्जाको न्युनतम् खपतबाट अधिकतम् उत्पादन गर्नु सही उर्जा अर्थशास्त्र हो । उर्जा बढी प्रयोग गरेर समृद्ध भईन्छ भनेर ठान्नु मूर्खबुद्धि हो ।
बिकासको मूल फुट्न बिकासका अवरोधकहरूलाई मिल्काउनु पर्छ । र बिकासका बाधक पिलोहरू निर्मम ढंगमा फुटालिनुपर्छ, फुट्नुपर्छ !
उपाध्याय, नेपाल सरकारका पूर्व सचिव हुन्
वि.सं.२०७६ फागुन १३ मंगलवार ११:२५ मा प्रकाशित






























