कुनै दिन….
सायद …..
आजै हुनु पर्छ
मैले चालै नपाइ
एउटा जून सुटुक्क
मेरो मनको मझेरीमा
सुस्तरी झरेथ्यो
**
गोधुलीमा सन्ध्याले
क्षितिजका भित्ताहरु
रंगाउदै गर्दा
मैले मेरो मनको
दैलो उघारेर
राता गुलाबको
तोरण टाँगेथेँ र
संघारमा प्रेमको
दियो बालेथेँ
**
उसको आगमनमा
उसैको सुगन्ध बोकेर
आउने बतासले
कानैमा भनेथ्यो
“ल है सम्हाल’
**
सिंगै जून मैले
मायाको पछ्यौरीले छोपी
मनको सिंहासनमा सजाएथेँ
समर्पणका फूलहरुले
अर्चना गरेँ गरि नै रहेँ
**
समयले समयलाई नै
बदली दियो
समयको प्रवाह संगै
बगेका हामी
दुई किनार बन्न
बाध्य भयौँ
ऊ डाँडामाथी बाट
ओझेल भयो
म अन्धकारमा रुमलिएँ
न मिलन सम्भव थियो
न त भेट नै भयो
**
तर आज अनायासै
यादका झरीहरु
एक पछि अर्को गर्दै
लगातार आइरहेछन्
प्रणयका मृदुल
स्वरहरु सुसाइ रहेछन
सायद……
आज पनि त्यही दिन
हुन पर्छ
प्रेम दिवसको ?
**
रातो गुलाबको
मनमोहक सुवास
बोकेर आउने
उहीँ बतास
उहीँ सुगन्ध छ
उहीँ आभास
उहीँ अनुभुति छ
उहीँ अर्चना
उहीँ समर्पण छ
फरक यति छ
ऊ छैन
**
अन्तरमनको द्वन्दमा
विस्वास कहिले दृढ़ बन्छ
कहिले डग्मगाउछ
परास्त हुँदैछु म
सायद ऊ आउदैछ
सायद ऊ आउदैन ????
दिल र दिमागको
लडाइँमा हार केवल
दिल कै हुन्छ
हो सधैं जस्तै
यस पटक पनि
हार दिल कै भएको छ
दिल कै भएको छ ।।
**
ठिमी-९, राधे राधे भक्तपुर
वि.सं.२०७६ फागुन १७ शनिवार १०:०२ मा प्रकाशित






























