(१)
दुई किनार भयौ हामी साङ्ले खोलामा
दिउँला माया धार्नी हजुर लिउँला तोलामा
इच्छाहरु तुहिदो हो एक्लै चिसो रात काट्दा
खुसी छ कि पीरको भारी तिम्रो झोलामा ।।
(२)
गह्रौ मनको भारी बिसाउथ्यौ कोठाभित्र
म भन्दा धेरै तिमी रिसाउथ्यौ कोठाभित्र
समस्या त कति झेलियो यो जिन्दगीमा,
तन संग संगै मन मिसाउथ्यौ कोठाभित्र ।।
(३)
तिहारमा देउसी भैलो खेल्थ्यौ बत्ती बालेर
आइपर्ने समस्या संगै झेल्थ्यौ बत्ती बालेर
एउटै यात्रा चाहना उस्तै उस्तै भएसी के भो ?
मायाको रोटी मज्जाले बेल्थ्यौ बत्ती बालेर ।।
(४)
यी नजर सधैं ती अधरमा ठोकिन्छ किन
दौलतको तराजुमा माया तौलिन्छ किन
बुझियो भावनाले मनलाई धकेल्दो रहेछ
छताछुल्ल बैँस मेरै आँगनमा पोखिन्छ किन ?
(५)
झमक्क सांझ पर्न नपाउदै कुरा हुन्थ्यो कोठाभित्र
वर वर झन् नजीक सर्दै कुरा हुन्थ्यो कोठाभित्र
बैँस जवानी र मात उस्तै उस्तै हुन्छ भन्थे हो रछ,
आपसमा कपाल मुसार्दै कुरा हुन्थ्यो कोठाभित्र ।।
वि.सं.२०७६ फागुन १७ शनिवार १०:०६ मा प्रकाशित