तिमी को हौ
आफैभित्र छामेर हेर
जब पखाल्छौ
मनभित्रको अहंकारको लेऊ
तब देख्नेछौ
पुतली नाँच्ने सुन्दर संसार ।
तिमी जसरी चलाउँछौ
जिन्दगीको बाटोमा पाइलाहरू
उसै गरी
छोटिन्छ र लम्बिन्छ
तिम्रो गन्तब्यको अविराम यात्रा पनि ।
यो अनन्त यात्रामा
कति खोलीहरू तरिन्छन् होला
कति अनकण्टार जङ्गल काटिन्छ होला
हिँड्दा हिँड्दै पाइला मेटिएर
कति सम्झनाहरू त उतै छोडिन्छन् होला ।
कोक्रोदेखि चितासम्म
कहाँ हुन्छ र जीवनको एउटै लय ?
यहीँ छ घृणा र यहीँ छ प्रेम
यहीँ छ क्रोध र यहीँ छ समर्पण
आक्रोशमा सवार भएर
यति लामो जीवन यात्रामा
कसरी गुड्न सकिन्छ र ?
हामीले देखेको दृश्यभन्दा पर पर पनि
शायद,
अर्को संसार हुनसक्छ ।
अर्जुनदृष्टि राखेर हेर त
हामी उठ्न सक्छौं, हामी देख्न सक्छौं
पाइला पाइलामा नयाँ संसार
वारिपारी सुन्दर संसार
हजारौं हजार संसारहरू ।
वि.सं.२०७६ चैत १ शनिवार ०९:२८ मा प्रकाशित






























