१.
बोकेर आफ्नो अभागी तक्दिर घुम्दैछु
बनेर आफै यो शहरमा मुसाफिर घुम्दैछु
थाहाछैन मलाई पृथ्वी घुम्छ के का लागि,
म भने आफ्नै जिन्दगीका खातिर घुम्दैछु ।
२.
सुगन्ध हो कि, दुर्गन्ध जल्नेलाई के थाहा ?
समय अनुसार तक्दिर छल्नेलाई के थाहा ?
पबित्र प्रेमको मूल्य कति हुन्छ, भनेर त्यो
मुटुमा बसेर धड्कन बदल्नेलाई के थाहा ?
३.
ओछ्यान भुलिदिन्छन् सिरानी भुलिदिन्छन्
निष्ठुरीहरुले त पूरा प्रेम कहानी भुलिदिन्छन्
बोल्दा तिमी मेरो धड्कनमा छौ भने ता पनि,
उता पाए भने यता जानीजानी भुलिदिन्छन् ।
४.
थोरै खुसी धेरैको किचकिचमा मुस्कुराउनु पर्छ
तक्दिर अनि समयको नीचमा मुस्कुराउनु पर्छ
जिन्दगी र गुलाफको फूल पर्यायवाची शब्द हो,
बाचुन्जेल काँडाहरुको बिचमा मुस्कुराउनु पर्छ ।
५.
चोखो मायामा न रुप हेरिन्छ न जात हेरिन्छ
न कसको उमेर कति भनेर अनुपात हेरिन्छ
पैसा छैन भने चोखो मन नखोज्नु होला यहाँ
यो स्वार्थी दुनियाँमा केवल औकात हेरिन्छ
वि.सं.२०७६ चैत १ शनिवार ०९:२७ मा प्रकाशित






























