मध्यान्न रात
सरर चिसो हवा
यस्तो लाग्छ यो चिसो हवा
मेरो गाउँबाट बहेर आएको छ
अनि
डाँडाबारीबाट पारीपट्टी देखिने
लहरै माछापुछ्रे हिमचुलीबाट
बगेर आएको हो कि यो हवा
कता कता यस्तो पनि लाग्छ
डाँडाबारीको फेद अनि
खेतको सिरानमा लहरै फूलेको
गुराँसहरुको कलेजी रंग
मिसिएर आएको छ यो हवा
मेरो शरीरलाई बिस्तारै स्पर्श गर्दै
गईरहेको छ कतै ।
हो ! ति गुराँसहरु
खेतको सिरानमा जब ढकमक्क फुल्थे
तब म लठ्ठिन्थे ती सुन्दरतामा
अनि मुसुक्क मुस्कुराउँदै भन्थे
‘वाह ! प्रकृति
तिमी बिनास्वार्थ यो धर्तीमा
कति मिठो रंग पोख्छ्यौ ।
नतमस्तक हुन्थे फूलको सुन्दरतामा
अनि
कल्पनाको सागरमा डुब्थे
गुराँसको सुन्दर बगैँचा बनाउँथे
फुलैफूलको बिचमा
मेरो सुन्दर सानो घर
आहा ! कस्तो आनन्दमयी जीवन
कति सुन्दर धरती ।
म यहि कल्पनामा
कहिले हिमालको फेदी पुग्थे
कहिले फर्किएर गुराँस शिरमा सिउरिन्थे
कहिले फूल टिपेर
प्रश्न गर्थे–हे ! गुराँस
म पनि तिमी जस्तै
यो संसारलाई सजाउन सक्छु त ?
तर,
आज वर्षौ भइसक्यो
त्यो ठाउँ अनि त्यो प्यारो गाउँ छाडेर
यो कंक्रिटको शहरमा
जीवनको परिभाषा खोज्न थालेको
यहाँ ती पाखा पंघेरी
गुराँस अनि हिमाल भेटिदैनन् ।
तर पनि म खोजिरहेछु धेरै
मनभित्र ति सबै सुन्दरता
यहि भन्दै–कहिँ लुकेका छन् कि
कुनै पवित्र मनभित्र
ती फूलजस्तै सुन्दर बिचारहरु
अनि ती फूलजस्तै संसार सुन्दर
बनाउन सक्ने शक्तिशाली मनहरु ।
जस्ले
कलेटी परेका ओठहरुमा
सुन्दर मुस्कान ल्याउन सकोस्
अनि म त्यसरी नै मुस्कुराएर
भन्नेछु–हे ! प्रकृति
हामीले पनि तिमीले जस्तै
बिना स्वार्थ संसारलाई माया गर्न सिक्यौं
तिमीले जस्तै
बिना स्वार्थ यी मानव मनहरुमा
कलेजी रंग भर्न सक्यौं
हो! हामीले पनि
सुन्दर मनको बगैँचाले
यो धरति सिंगार्न सिक्यौं ।
वि.सं.२०७६ चैत १ शनिवार ०९:५७ मा प्रकाशित






























