
४ चैत, काठमाण्डौ । बलिवुडका चर्चित कलाकार प्रियंका चोपडा, दिपीका पादुकोण र सल्मान खान लगायतले कोरोना भाइरसबारे सचेतना जगाउँदै आएका छन् ।
विश्व स्वास्थ्य संगठनले चलाएको ‘सेफ ह्याडस्’ च्यालेन्समा प्रियंका चोपडा र दिपीका पादुकोणलाई पनि सामेल गरिएको हो ।
विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणलाई विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरिसकेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ठूलो असर परेको छ । पछिल्लो पटक कोरोना भाइरस संक्रमणसँग लड्नका लागि विश्वका विभिन्न देशले बोर्डर सिल्ड, हवाईसेवा बन्द, राष्ट्रिय आपतकालिन घोषणालगायत गरिसकेका छन् भने केही दिनयता कोरोना संक्रमण रोकथामका लागि विभिन्न देशका सरकारले करोडौ डलर छुट्याइको समाचार पनि सार्वजनिक भएका छन् ।
यतिबेला विश्व स्वास्थ्य संगठनले ‘सेफ ह्याण्ड्स’ नामक अभियान चलाइरहेको छ । अभियानले मानिसहरुलाई भाइरस संक्रमणबाट बच्नका लागि सचेतना जगाउँदै आएको छ । जसमा राम्रोसँग हात धुने तरिका पनि बताइएको छ ।
उक्त अभियानका लागि संगठनले वलिवुडका चर्चित कलाकारहरुलाई पनि सामेल गरेको हो । उनीहरुले आफ्नो नमस्ते गरेको फोटो सामाजिक संजालमा सेयर गर्दै अरुलाई पनि सेयर गरेर सचेतना जगाउन अनुरोध गरेका छन् ।
जसमा प्रियंकाले एकअर्कामा हात मिलाउनु र अंकमाल गर्नु भन्दा नमस्ते गर्न सल्लाह दिएकी छन् । प्रियंकाले आफ्नो इन्स्ट्राग्राममा एक भिडियो सेयर गरेकी छन् । जसमा उनले मानिसहरुलाई ‘नमस्ते’ गर्ने बानी बसाल्न अनुरोध गरेकी छन् ।
त्यसैगरी इटालियन कलाकार एन्ड्रिया बोस्काले पनि प्रियंकाको भिडियोमा कमेन्ट गर्दै धन्यवाद दिएकी छन् ।
यसैगरी सल्मान खान, अनुपम खेर, अक्षयकुमारले पनि कोरोना भाइरसबाट बच्न सल्लाह दिएका छन् । जसमा सल्मान खानले ‘नमस्ते’ को सल्लाह दिएका छन् । उनले सोसल मिडियामा आफ्नो एक फोटो पोस्ट गर्दै कोरोना भाइरसको त्रास सकिएपछि एकअर्कामा हात मिलाउनुहोस् र अंकमाल गर्नुहोस् तर अहिले अभिभादन गर्ने सबैभन्दा राम्रो तरिका नमस्ते रहेको सुझाएका छन् । अक्षयकुमारले पनि नमस्तेकै सल्लाह दिएका छन् ।
वि.सं.२०७६ चैत ४ मंगलवार ११:१४ मा प्रकाशित