एउटा हल्ला फैलियो, अनायासै
सन्त्रास लिएर,
मानौ यो नै सृष्टिको विनासकारी
काल हो, अनिकाल ल्याउने
हाहाकार हो ।
मानव जीवनमा अन्यौल आयो ।
अन्धकार भित्र निःशस्त्र,
निःशब्द भयो, बनायो ।
मानौ विज्ञानका सबै पार्टपुर्जाहरू
सिथिल भएर विश्राम लिईरहेका छन् ।
हावाहरू वजनदार भएर
वहन छोडीसकेका छन् ।
विभिन्न काल खण्डमा टुक्रिका
तेरो र मेरो भएर सीमाना कोरिएका
धर्तीका क्षेत्रहरू फेरि एक पटक
एकै पटक हल्लिएको छ ।
ससंकित भएको छ ।
नगद, धन, सम्पति केवल
उपभोकको साधनमा
सिमित रहे, निर्बल बने ।
थुकले पनि टिपेर राखेका,
अरुसँग लुटेर राखेका,
कतै श्रमले आर्जेका त कतै
उपहारमा वर्षिएका सबै
द्रव्यहरूलाई मानिसहरू
छुन, चलाउन छाडीसके ।
दूरी बढाउन लागिसके ।
को आफन्त, को पराइ,
देखेर पनि, चिनेर पनि
नचिने झैँ, नदेखे झैँ,
मुख छोपेर, लुक्दैछन् ।
लुकाउन बाध्य छन् ।
आफ्नै घरको कोठा भित्र ।
मानौ बाहिर ठूलै द्वन्द भइरहेको छ,
सैनिकविनाको द्वन्द, शत्रुविनाको द्वन्द ।
हतियारविनाको द्वन्द,
प्रतिकारविनाको द्वन्द ।
एक्लै लड्दै छ उ, लडाउँदै छ,
भगाउदै छ अरुलाई ।
अदृश्य छ तर त्रासले सबै तिर सर्वत्र
भए जस्तो, देखिए जस्तो, छोइए जस्तो ।
कस्तो, कस्तो । सुक्ष्म नदिखिने तर
भयानक, भयाङ्कर जस्तो ।
सबैले देखे जस्तो ।
एउटा हल्ला फैलियो, अनायसै
अत्मबलहरू घटाउने,
मनोबलहरू दवाउने ।
प्राण वायु नै रोकेर जिन्दगी
रोकाउन खोज्ने ।
सानो अत्यन्तै सानो,
तर ठूलो भिमकायले तर्साए जस्तै
तर्साउने अहो !
अन्ततः बुझ्दै जाँदा थाहा हुँदै जाँदो रहेछ ।
पर्दै जाँदा भोगिदै गइदो रहेछ ।
अरे !
यो त निर्जीव जीवाणु पो रहेछ,
एउटा कोभिड भाइरस भन्ने
कोरोना पो रहेछ ।
सामान्य लिनु पर्छ ।
अब
सोच्नु छ त्यो केही पनि हैन ।
न आत्तालिदै भन्नू छ ।
अरे ! तँ !
एउटा निर्जीव सुक्ष्म सेल होस्,
आफू फक्रिनको लागि
दोस्रो जीवित प्राणीको
सहारा लिने, लाक्षी, हुतिहारा
कीटाणु !
तर…
तर जित्नु छ एउटा महामारी ।
एउटा सभ्यताको सुरुवात गर्नुछ ।
मानवताले भरिएको मानव जीवन
फेरी विजयी भवः बन्नुछ ।
सचेत कायरता हैन सजगता हो ।
अनुशासन निर्देशनको पालाना हैन,
सभ्यताको चिनारी हो ।
विश्वास, संस्कार हो, आस्था हो,
जिन्दगी जिउने आधार हो ।
आत्मबल बढाउने औषधि हो ।
इम्युनिटी पावर हो ।…..
वि.सं.२०७७ वैशाख २३ मंगलवार ०९:२६ मा प्रकाशित






























