हे मान्छे अति दुष्टता नगरने बाचा मलाइ तँ दे
कोरोना म हुँ रोगको अति ठुलो नाता मलाई न दे
तेरा दुष्ट पना सुरा हुन गए आएँ म ब्याधा बनि
दुःखी दुःख संगै संधै रुन गए जागेँ म काँढा बनि
१
आफ्नै स्वार्थ संगै डुबेर अरुका आशा निमोठी दिने
हे मान्छे किन हो संधै बिपतमा पासा बिगारी दिने
आमाकै रमिता बनाइ कसरी हासेर निस्फिक्र छौ
कोरोना म पनि सुटुक्क सबमा जागेर बस्दैछु लौ
२
यस्तो धर्म कहाँ थियो जगतमा केले बिगार्यो मति
सारा शास्त्र हरु पढेर पनि खै पाली रह्यौ दुर्म्ति
साथीकै रमिता रच्यौ असलता त्यागेर फाल्यौ कता
तिम्रा दुष्ट पना मिटाउँ मपनि ठानेर आएँ यता
३
सारा मानवमा असाध्य नमिठा पारा बिलाउन् तब
मान्छे जन्म लिएर मानव बनि सारा उदाउन् जब
जानेछु मपनि बुझेर बलियो मानिसको सुमति
आँफैमा रहने म हो बिचरने बिनासको त्यो गति
४
अर्काको सुखमा असाध्य नमिठो मान्छन् कतै मानव
दुःखी भाव हरु बुझी मनमनै हास्छन् कतै मानव
केले जन्मिन गो कु भाव मनमा बुझ्नै नसक्ने भएँ
मान्छेका मनमा पसेर कटुता सारा पखाल्ने थिएँ
५
देख्ने प्यास बढ्यो अहो हृदयमा मान्छे हरुका गति
ब्रम्हाले कसरी रचे मनुजता देखौं छ त्यो जे जति
खोज्ने आँट कतै गर्यौ यदि भने त्यो दुष्टताको कुरा
छाड्ने छैन कतै बुझेर मनमा बन्छस् कि मान्छे पुरा
६
छन्दः शार्दूलविक्रीडित
वि.सं.२०७७ जेठ १० शनिवार ०९:४४ मा प्रकाशित






























