एकादेशमा एउटा स्वाभिमानी राजा थिए । उनले आफ्नो राज्यमा बिभिन्न सागसब्जी, पशुपालन फलफुल खेति गराएर अर्को राज्यमा निर्यात गरी राज्य कोषमा ठुलो धनराशि जम्मा गर्न सक्षम भएका थिए । जोकोइ बेरोजगारलाई बोलाइ खेतिपाती पशुपालन गर्न राज्य कोषबाट बिना ब्याज ऋण सहयोग गर्थे ।
ती राजाले भर्खरै अर्को एउटा सानो राज्य माथि विजय प्राप्त गरी आफ्नो राज्यमा गाभी फर्केका थिए । उनले विजय प्राप्त गरेको त्यो राज्यमा नागरिक धेरै गरिब र दुखि थिए । खाध्यान्नको अभाब थियो पशुपालन कृषिजन्य कुनै उत्पादन थाहा थिएन । सबै अर्को राज्यबाट महँगोमा किनेर लेराउनु पर्दथ्यो । त्यसले गर्दा त्यो देशको राज्यकोष समेत खालि थियो । राजाले भर्खर बिजय प्राप्त गरेको त्यो भूभागमा पशुपालन सागसब्जी फलफुल उत्पादन गर्न आफ्नो राज्य भएका अनुभबी किसानलाई छानेर पठाउने उदेश्यले झ्याली पिटाए । सबै किसानले आ-आफ्नो दक्षता प्रमाणित गर्न आफुले उत्पादन गरेको फलफुल सागसब्जीको नमुना लिएर दरबारमा हाजिर हुन् आउनु …. ।
यो कुरो त्यहाँको एउटा छट्टु नागरिकले पनि थाहा पाएछन् । उसले जसको राम्रो खेतिबारी छ, त्यहाँ त्यहाँ गएर एक दुई एक दुई राम्रो उत्पादन चोर्दै माग्दै घरमा थुपारेर तोकिएको दिन अरुसंगै ऊ पनि ती समान बोकेर दरबारमा हाजिर भयो ।
राजा सबैको उत्पादन हेर्न र किसानको परिचय माग्न अगाडी के बढेका थिए, त्यहाँ भेला भएका अरु किसानहरु एक अर्कामा कानेखुसि गर्दै मरी मरी हाँस्न थाले । राजा छक्क परे अनि अलमलमा पनि नागरिकहरुको हाँसो रोकिएको थिएन । राजा अगाडी बढेर जिज्ञासा राख्दै सोधे तपाइँहरु किन हास्नु भएको ? के कारण पर्यो होला ? तब किसानहरुले जवाफ दिए । रिसानी माफ होस् सरकार ऊ त्यो अगाडी धेरै थरि फलफुल सागसब्जी बोकेर आउने कुनै काम गर्दैनन त्यो सब केहि हामी सित मागेको त केहि चोरेर थुपारेका हुन् ।
त्यहि भिडमा सबै किसानहरुको पछाडी एक झुम्रे मानिस खालि हात उभिएको देखेर राजाले सोधे तपाइँ को हो नि ? किन खालि हात आउनु भएको ? मेरो आदेश सुन्नु भएको थिएन ? ती मानिस केहि बोल्नै आँटेका थिए कि बाँकी सबै किसानले एकै स्वरमा निबेदन गरे ‘सरकार यो राज्य मा असली किसान हाम्रा पथप्रदर्शक उनै हुन् । यिनलाई बिहान उज्यालो भए देखि साँझ झमक्क नहुन्जेल हाम्रा खेत बारीमा आएर हामिलाई खेतिपाती गर्न सिकाउने खेतिको नमुना देखाउन हाम्रो खेतबारीमा काम गर्दैमा फुर्सद हुँदैन । हामीले जे जति पनि उत्पादन गरेका छौ यो सबै यिनैको शिक्षा र सहयोगले गर्दा सम्भब भएको हो ।”
त्यो सुनेर राजाले ती झुम्रे किसानलाई अगाडी बोलाए अँगालो मारे अनि सबैलाई सुनाएर भने ‘देशको लागि यिनी जस्तो इमान्दार र त्यागि नागरिक चाहिन्छ । म नतमस्तक छु तपाइँ प्रति तपाइँ जस्तो नागरिक नहुने हो भने म एक्लैले देश बचाउन कहाँ सक्छु र भन्दै राजाले नयाँ भूभागमा खेतीपाती गर्ने र राजस्व संकलन गर्ने मुख्तियारी दिएर पठाउने निर्णय सुनाए । साथै उनले त्यो छट्टुलाई पनि अगाडी बोलाएर भने यो देशमा सबै तपाइँ जस्तै धुर्त र छट्टु नागरिक भए देश कहाँ पुग्छ ? चलाखी धुर्त्याई मानिसको जीवनको ठुलो कलंक हो । एक पटक म माफ गरी दिन्छु ठगेर खाने बुद्धि अब आइन्दा न् गर्नुस । ल तपाइँ पनि वहा संगै जानुस र हाम्रो नया भूभागमा खेतीपातीमा सहयोग गर्नुस । म मेरो राज्यमा कोइ बेरोजगार धुर्त ठग देख्न सक्दिन । त्यसो भन्दै सबै किसान लाई भोजन खुवाएर उनिहरुले लेराएको उत्पादनको उचित मूल्य बराबर सुन सिक्का दिएर बिदा गरे ।
(NORMS OF STRONG CIVIC SENSE को लागि …..)
वि.सं.२०७७ असार ३ बुधवार ०९:२२ मा प्रकाशित





























