back
CTIZAN AD

कलुवा डोमको समाजवाद

वि.सं.२०७७ असार १७ बुधवार

1K 

shares

क्रान्ति भइसक्यो
आइसक्यो गणतन्त्र
ढोकैमा हाजिर छ समाजवाद
गाऔँ अब सबले एकसाथ
‘सबै नेपाली समाजवादी
सबै समाजवादी नेपाली ।’
मेरो देशमा छन्
छत्तीसको अङ्क जस्ता दुई समाजवाद
नं.१ हो सिंहदरवारको समृद्ध समाजवाद
नं.२ हो कलुवा डोमको हरितन्नम समाजवाद ।
भन्नुहोला : के फरक छ महासय यी दुईमा ?
ल सुन्नोस् :
संविधानमा लेखिन्छ र
सलामी खान्छ समृद्ध समाजवाद
मठमन्दिर धाउँछ र
जङ्गबहादुरको श्राद्ध गर्छ समृद्ध समाजवाद
संसदमा घुर्छ र
कुर्सी खोसाखोसमा घायल हुन्छ समृद्ध समाजवाद
दुःखीजनको ‘उद्धारको लागि’
हेलीकप्टरमा सैर गर्छ र
भाषण बान्ता गर्छ समृद्ध समाजवाद
क्वीन्टलको मालाले थिचिएर थला पर्छ र
पेनकिलर खान दिल्ली उडछ समृद्ध समाजवाद
शहीदको छातीमा किस्ती सजाएर
अजीर्ण बन्छ र
डाइजिन खान थाईल्याण्ड पुग्छ समृद्ध समाजवाद
किलोका किलो सुन निल्छ र
पेट चिर्न सिङ्गापुर धाउँछ समृद्ध समाजवाद ।
फारसको नबाबभन्दा रवाफिलो छ रत
अत्तर किन्ने पैसा जोहो गर्न
सुनको थालीमा
भीख माग्न हिँड्छ समृद्ध समाजवाद
पद पतिष्ठा पावर पैसा र परिवार हो समृद्ध समाजवाद ।
तर मौलिक छ कलुवा डोमको समाजवाद
जस्तो कि समाजवादीसँग
निजी खेतबारी हुन्न
निजी घरघडेरी हुन्न
निजी सुनपैसा हुन्न
रत छैन कलुवा डोमसँग यो कुनै कुरा ।
सच्चा समाजवादी हो कलुवा डोम
पाँचै जनाको परिवार वा कम्युन जे भन्नुस्
साझा छ चुहिने काँसे छाप्रो
साझा छ बाँस खोज्ने चोया काड्ने काम
साझा छ टोकरी बुन्ने र पिठो साट्ने काम
बाँडेर निस्तो आधापेट रोटी खानु र
साझा पाँचहात चीसो भुईँमा
कठ्यांग्रिएर रात बिताउनु ।
वा तपाईँ कलुवा डोमलाई
भन्न सक्नुहुन्छ साम्यवादी
छैन उसको नागरिकता
छैन उसको राज्य
छैन उसको सरकार
छैन उसको देश
फेरि पनि ऊ हो नेपाली
फेरि पनि ऊ हो समाजवादी ।
मौलिक छ कलुवा डोमको समाजवाद
पञ्चायतले देख्न नसकेको
‘जनक्रान्ति जनयुद्ध मधेसक्रान्ति’ले
छुन नसकेको रत
अगम्य अस्पृश्य र ‘अछूत’ छ
कलुवा डोम जस्तै छ उसको समाजवाद ।
अजीर्ण बनेर धैसे डकार्छ समृद्ध समाजवाद
रोग भोक र तिरस्कारको आगो उकेल्छ
कलुवा डोमको हरिकङ्काल समाजवाद
जोडले भनौँ !
‘सबै नेपाली समाजवादी’
स्वर मिलाई गाऔँ !
‘सबै समाजवादी नेपाली ।’

वि.सं.२०७७ असार १७ बुधवार ०८:२७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...